सिन्धुली । विपी राजमार्गको खुर्कोटदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्मको सडकमा रातीको समयमा यात्रुबाहक सवारी साधन सञ्चालन नगरिने भएको छ । वर्षातको समय र जोखिमपूर्ण सडकको अवस्थालाई मध्येनजर गर्दैै विपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाईएको हो ।
सिन्धुलीको मुलकोटमा शुक्रबार बसेको सिन्धुली, काभ्रे र रामेछापका सुरक्षा प्रमुखहरुको अन्तरजिल्ला संयुक्त बैठकले शुक्रबारदेखि १५ दिनसम्म बेलुकी साढे छ बजेदेखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमयुक्त भएकाले यस्तो निर्णय लिइएको हो ।
बैठकको निर्णयपछि भण्डारीले सूचना जारी गर्दै सार्वजनिक, नीजि यात्रुबाहक साधनलाई विपी राजमार्गमा रातीको समयमा सञ्चालन गर्न रोक लगाएको उल्लेख गरेका छन ।
मनसुनजन्य विपदबाट रातीको समयमा हुन सक्ने मानविय र भौतिक क्षति कम गर्नका लागि उक्त निर्णय गर्नु परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमा रोक लगाइनेछ भने काठमाडौंतर्फ गइरहेका गाडीहरू सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था मिलाउने निर्णय भएको छ ।
मालवाहक गाडी र आपतकालिन सवारीहरूलाई भने विषेश अवस्था र आवश्यकता अनुसार सञ्चालन गर्न छुट दिइनेछ । राजमार्गमा पर्खाल भत्किने, पहिरो खस्ने, सडक चिप्लिने, भिजेका ठाउँमा गाडी चिप्लिने तथा रातीको समय अँध्यारो हुने हुँदा थप जोखिम हुने भएकाले यातायात सञ्चालनमा रोक लगाएको उनले बताए ।
सुवेदीका अनुसार विपदजन्य जोखिमबाट हुनसक्ने सम्भावित घटनामा उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सहकार्य गर्नका लागि समेत बैठकले महत्वपूर्ण छलफल गरेको छ ।
गत असोजमा आएको बाढीले राजमार्गको विपी राजमार्गको खुर्कोटदेखि काभ्रेको भकुण्डेवेशीसम्म अत्यधिक क्षति गरेको थियो । सडकको पुनःनिर्माण नभईसकेको र दिउँसोको समयमा समेत यात्रा कष्टकर भईरहेको हुँदा थप क्षति हुन नदिनका लागि उक्त निर्णय गरिएको सुवेदीले जानकारी दिए ।
सिन्धुली, काभ्रे र रामेछापका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा भएको बैठकले सडक सुरक्षालाई प्राथमिकता दिने निर्णय गरेको हो ।






















