सिन्धुली/ नेकपाका महिला नेतृहरुले आफुहरुका माग पुरा नभएसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका अगुवा महिला नेताहरुले सोमबार जिल्ला पार्टीलाई एकीकरणपछि बनेका कमिटीहरुमा महिलाहरुलाई नेतृत्वमा नलगिएको र उचित प्रतिनिधित्व नगराईएको भन्दै ज्ञापनपत्र बुझाउँदै यस्तो उल्लेख गरेका हुन । बुझाईएको ज्ञापनपत्रमा महिलाका मागलाई पार्टीले सम्बोधन नगरेसम्म नेकपाका सबै औपचारिक कार्यक्रमा महिला नेताहरुले सहभागिता नजाउने समेत उल्लेख गरिएको छ ।
महिलाहरुले नेकपाले पार्टी संगठन निर्माण गर्दा पार्टीको विधान र संविधानमा उल्लेख गरेका समानुपातिक समावेशीताको सिद्धान्तलाई वेवास्ता गर्दै महिलाहरुको उचित प्रतिनिधित्व गराउन र निर्णायक तहमा महिला नल्याएको भन्दै ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले पाँच बुँदे माग राखि ज्ञापन पत्र बुझाएका छन ।
महिला नेता सविता कोइराला, रमा शर्मा, पार्वती भट्टराई, अप्सरा खड्का, मेनुका तिमल्सिना, बिमला पाण्डे, आस्था भुजेल, गंगा कार्की लगाएतको टोलीले जिल्ला पार्टीले पूर्णता नपाएको अवस्थामा नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेललाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा नेकपाका जिल्ला कमिटि, नगर तथा गाउँपालिका कमिटीमा समानुपातिक समावेशी सिद्धान्त र पार्टी विधान बमोजिम महिलाको अर्थपूर्ण सहभागिता कायम गर्न र बनिसकेका कमिटीलाई पुनः गठन गर्न माग गरिएको छ । यस्तै जिल्ला कमिटीमा सिफारिस गरिएका महिलाहरुमा कम्तिमा ३३ प्रतिशत नघटाउन र मुख्य पदमा महिलालाई ल्याउन, नेकपाका जनवर्गिय संगठनहरुमा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्न, सरकारले नियुक्त गर्ने सबै निकायमा महिलालाई सिफारिस गर्न, र संविधान र पार्टी विधानले व्यवस्था गरेका हकलाई प्रभावकारी रुपमा राज्यका सबै निकायमा पु¥याउन थालनी गर्न पार्टीसँग माग गरेका छन ।
महिलाहरुले बुझाएको ज्ञापनपत्रमा सिन्धुलीका नगर तथा गाउँपालिका स्तरीय कमिटिहरुका मुख्य पदमा महिला शुन्य हुनु, यी कमिटीका सचिवालयमा ८ दशमलब ७३ प्रतिशत मात्र महिला हुनु र समग्र कमिटिमा जम्मा १० दशमलब ७५ प्रतिशत मात्र महिला सहभागिता हुनुले प्रस्ट गरेको उल्लेख गरिएको छ । ‘यस्तै जिल्ला कमिटीमा सिफारिस भएर सार्वजनिक भएका नामलिस्टमा समेत महिलाको उल्लेख्य सहभागिता नदेखिनुले पार्टीले महिलालाई पूर्ण रुपमा विभेद गरेको अनुभूति गरेका छौं’ ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै ज्ञापनपत्रमा पार्टीभित्रको लोकतान्त्रिकरण, समानुपातिक समावेशी अभ्यासले नै राज्यलाई पार्टीले कुन दिशा दिदैछ भन्ने कुरा प्रस्ट गरेको उल्लेख छ । पछिल्लो समय जिल्ला पार्टीको सिफारिस र बनिसकेर सपथग्रहण भईसकेका पालिका स्तरीय कमिटिको अभ्यासले नेकपाले महिलाको समावेशीकरण र नेतृत्व स्वीकार गर्न नसकेको प्रत्यक्ष देखिएको भन्दै नेपालको संविधान र नेकपाको पार्टी विधानलाई नै वेवास्ता गरि पार्टी नेतृत्व पुरानै शैलीमा फर्किएको प्रति हाम्रो आपत्ति महिलाहरुले आपत्ति जनाएका छन । महिलाहरुले प्रदेश नं. ३ र केन्द्रीय कार्यालयमा समेत ज्ञापनपत्रको बोधार्थ दिएका छन ।



















