सिन्धुली/राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले अब सुत्केरी हुने महिला सदस्यलाई सुत्केरी खर्चको व्यवस्था गर्ने भएको छ । सहकारीको शनिबार सिन्धुलीमाढीमा भएको एघारौं साधारणसभामा कोषाध्यक्ष अनन्त प्रसाद न्यौपानेले पेश गरेको प्रतिवेदनमा आएको उक्त प्रस्तावलाई पारित गरेपछि यस्तो सेवा सुत्केरी हुने महिला सदस्यले पाउने भएका हुन ।
सुत्केरी हुने महिला सदस्यले ३ हजार सुत्केरी खर्च पाउने छन । सुत्केरी सदस्यले शिशु जन्मेको ३५ दिनभित्र शिशुको जन्मदर्ता र अस्पतालको वर्थ सर्टिफिकेट सहित निवेदन पेश गरेपछि सहकारीले यो सुविधा दिने छ ।सहकारीमा जम्मा ४ सय ८१ जना सदस्यमा १ सय २७ जना महिला सदस्य रहेका छन ।
सहकारीका अध्यक्ष वद्री नारायण श्रेष्ठको अध्यक्षता एवम् निजामति कर्मचारी संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन तथा प्रस्तावहरु पास गरिएको छ । सहकारीले ४ सय ७५ सदस्यमा थप गरि ६ सय बनाउने समेत लक्ष्य राखेको छ । यस्तै संस्थाले २ करोड ६५ लाख ४७ हजार ९ सय १६ रुपैंया बराबरको कारोबार गरेको जनाएको छ ।
संस्थाले साधारणसभाको अवसरमा १३ जना जेष्ठ नागरिक तथा ३ जना एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि लेखनाथ कोइरालाले सदस्यहरुको जीवनस्तर उकास्ने नयाँ खालका योजना ल्याउन सहकारीलाई आग्रह गरेका छन । उनले सहकारीले बचत र ऋणमा मात्र नभई आर्थिक विकासका काममा ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा निजामति कर्मचारी संगठनका उपाध्यक्ष शरण गुरुङ, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य द्वारिका काफ्ले, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णहरि घिमिरे, स्थानीय कर्मचारी संघका वविन्द्रलाल माझी, नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम पहाडि लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष गणेश बहादुर श्रेष्ठले स्वागत गरेका थिए ।




















