सिन्धुली/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन २०१८ मा संकलित मानवअधिकार उलंघन तथा हनन्का घटनाहरुको वार्षिक समिक्षा कार्यक्रम सिन्धुलीमाढीमा २०७५ मंसिर १४ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले सिन्धुलीमा सवै भन्दा बढी हिंसा घर–घरमा हुने गरेको भन्दै यसलाई निर्मूल पार्न स्थानीय सरकारले नीति तथा कार्यक्रमको तय गरि हरेक तहदेखी वडा–वडा र घर घरमा चेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताइन । हिंसा अन्त्य गर्न कानुनको कार्यान्वयनले मात्र नहुने भन्दै रुढीबादी परम्परा र साेंचका कारण अधिकांश घटना घट्ने गरेकाले घर–घरमा सचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताइन । प्रसाईंले यसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने र सवै सरोकारवालाहरु एक भएर लाग्नु पर्नेमा जोड दिईन ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता ज्वालाप्रसाद न्यौपाने, नेपाली कांग्रेसका नेता माणिक ढकाल, जिल्ला सरकारी वकील कार्यालय सिन्धुलीका अनन्तराज न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारिका काफ्ले, सिफ्ट सिन्धुलीका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विभिन्न बहानामा हुने मानवअधिकार उलंघन नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन र सरोकारवालाहरु एक भएर लाग्नु पर्ने बताएका थिए ।
उनीहरुले पछिल्लो समयमा महिला र बालिका असुरक्षित भएको तथ्यांकले देखाएको भन्दै नागरिकले सुरक्षित महसुस गरि स्वतन्त्र तरिकाले हिडडुल गर्न सक्ने बातावरण सरकारी निकायले तय गर्नु पर्ने बताएका थिए । कानुनको कडा कार्यान्वयन हुने पर्नेमा जोड दिईएको थियो ।
इन्सेकका सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेले जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । उनले जिल्लामा यस वर्ष १ सय १६ वटा मानव अधिकार हननका घट्ना घटेको जानकारी गराएकी थिइन ।
उनले कमलामाई नगरपालिकापछि क्रमशः दुधौली नगरपालीका मरिण गाउँपालीका, फिक्कल गाउँपालीका तिनपाटन गाउँपालीका र सुनकोशी गाउँपालिकामा बढी हिंसा हुने स्थानीय तह रहेको बताइन ।
उनका अनुसार घटना मध्य दुई महिला, दुई पुरुष गरि चार जनाको हत्या, ११ वटा बाल अधिकार हनन्, बाल बलत्कार प्रयास ४, महिला बलात्कार ७, बलात्कार प्रयास २, घरेलु हिंसा ७६, बालिका बेचविखन तथा बलात्कार १, बेचविखन १, अपहरण तथा शरिर बन्धक र बलात्कार बालिका १, बहुबिबाह ४, बालविवाह १, बालबिबाह बलात्कार ३, अपमानजनक व्यवहार १ गरि ११६ वटा घटना घटेको छ । जिल्लामा २ पुरुष, १ बालक, ९२ जना महिला र २२ बालिका पीडित बनेको इन्सेक सिन्धुलीले जनाएको छ ।





















