सिन्धुली/कमलामाई नगरपालिका वडा नं. १३ की ९ वर्षिय बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा पढ्नका लागि स्टेशनरी सहयोग गरेको छ । घरेलु हिंसाबाट पीडित भएकी पूजा वि.कको कोखबाट जन्मेकी स्वर्णिका वि.क आमाको मृत्यु र बाबुको अत्तोपत्तो नहुदा अविभावक विहिन बन्न पुगेकी थिइन ।
बालिकालाई ओरेकका जिल्ला संयोजक सपना थापा, सामाजिक परिचालक तथा स्थानीय सोभा बख्रेलको रोहबरमा इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले उक्त सामग्री हस्तान्तरण गरेकी हुन । पाण्डेले बालिकालाई निरन्तर विद्यालय पठाउन र जाडोबाट जोगाउनका लागि सहयोग गरिएको बताईन ।
मावली पट्टीका सौतेनी हजुरबुवा हजुरआमासँग बस्दै आएकी उनलाई जाडोमा विद्यालय जाँदा लगाउने लुगा तथा स्टेशनरी सहयोग गरिएको हो । गत बैशाखमा टिवी तथा क्यान्सर रोगका कारण आमा गुमाएकी बालिकाका बुवाको पत्तो नलागेपछि मृतक आमाको काजक्रिया समेत भएको छैन भने उनी भन्दा करीब डेढ, दुई वर्ष जेठी दिदी भूमिका समेत मरिणमा अरुकै घरमा काम गर्न बसेको ओरेकका सामाजिक परिचालक तथा स्थानीय सोभा बख्रेलले बताइन ।
बालिका स्थानीय बालज्योति प्रावि कांगृङ महडामा कक्षा दुईमा पढ्दै छिन । उनले विद्यालयमा शिक्षकले कापी कलम उपलब्ध गराएमा मात्र लेख्ने पढ्ने गरेको र आश्रय दिएका हजुरवुवा हजुरआमाले समेत कापी कलम किनिदिन सक्ने अवस्था नरहेको बख्रेलले बताईन । ९ वर्षअघि स्वर्णिका गर्भमा हुदा घरबाट निकालिएकी आमा घरमा गएकी थिइन । बालिकालाई बाबुको नाम, घर समेत थाहा छैन ।
बखे्रलका अनुसार बालिकाको जन्मदर्ता गरिदिने समेत कोहि छैनन । बालिकाका बाबु जन्मदर्ता गराउन समेत समस्या रहेको उनले बताईन । बालिकाका बुवा सिन्धुलीबाट चपुरमा बसाई सरेको भनिए पनि पत्ता नलागेको उनले बताईन ।




















