सिन्धुली । जिल्ला स्तरीय अनुगमन समितिले शुक्रबार मरिणका विभिन्न बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको छ । मरिण गाउँपालिकाको कपिलाकोट छाप, नयाँवस्ती लगाएतका बजारहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका ७ हजार ७ सय ५५ रुपैंया बराबरको खाद्य सामग्री तथा पेय पदार्थ बरामद गरिएको छ । मरिण क्षेत्रमा म्याद गुज्रेका सामानको विक्री वितरण मात्र नभई कानुनी दायरामा नरहि व्यवसाय सञ्चालन गर्ने गरेको समेत पाईएको छ ।
अनुगमन टोलीले अनुगमन गरेका १६ वटा थोक तथा खुद्रा पसलहरुमध्ये अधिकांश व्यवसाय दर्ता नभएको, नविकरण नभएको, एक व्यक्तिको नाममा पसल दर्ता गर्ने र अर्कै व्यक्तिले व्यवसाय सञ्चालन गर्ने गरेको, व्यवसायको पहिचान खुल्ने साईन बोर्ड नराखिको पाईएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले बताएका छन ।
अनुगमनमा भेटिएका समस्याहरुलाई तत्काल सुधार गर्न अनुगमनकै क्रममा व्यवसायीहरुलाई सुझाव दिईएको समेत ढकालले बताएका छन ।
यसैबीच मरिणमा धेरै व्यवसायीहरुले व्यवसाय नै दर्ता नगरि सञ्चालन गर्ने गरेको पाईएको मरिण गाउँपालिकाले जनाएको छ । पालिकाले अनुगमन गरि दर्ता नभई व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको नामावली तयार गरिरहेको र व्यवसाय दर्ता गर्न पत्राचार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
गाउँपालिकाका बजार क्षेत्रमा सञ्चालित व्यवसायलाई कानुनी दायरामा ल्याउन उक्त काम सुरु गरिएको मरिण गाउँपालिकाका उद्योग तथा वाणिज्य शाखाका प्रमुख पवन सुवेदीले बताएका छन ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रतिनिधि, उद्योग वाणिज्य संघ मरिणका प्रतिनिधि, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रतिनिधि, मरिण गाउँपालिकाका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिको सहभागिता रहेको थियो ।




















