सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ का डोर प्रसाद सुवेदीले ऐलानी जग्गामा घर बनाएका पीडितले दोस्रो र तेस्रो किस्ता रकम पाउन नसकेको गुनासो गरेका छन । उनले ऐलानी जग्गामा बसोबास गरेका पीडितले घर बनाउँदा पनि पैसा नपाउने र नबनाउँदा पनि राज्यले समस्यामा पारेको बताए । उनले सम्झौता गर्दा खोला सिमसारको जग्गाको लालपूर्जा राखेकाले घर बनाउन झनै समस्या रहेको बताए । सुवेदीले काठको घरको नक्सा प्रयाप्त र समयमा नहुदा समेत भुकम्पपीडितले समस्या भोगेको भन्दै स्थानीय सरकारले यसको व्यवस्थापनमा सहयोग गर्न आग्रह समेत गरे ।
यस्तै कार्यक्रमा स्थानीय सरकारका प्रतिनिधिलाई प्रश्न गर्दै कनपा ९ का अम्बर भण्डारीले ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका हामी नेपाल सरकारका जनता हौं या होइन जवाफ दिन आग्रह गरे । यस्तै कनपा १० का दिनेश बरालले आफ्नो गाउँमा अझै पनि ६, ७ घर भुकम्पपीडितले पुननिर्माणमा छुटेको बताए ।
कार्यक्रममा कनपा ९ का टिका प्रसाद घिमिरेले ऐलानीमा बसोबास गर्दै आएका भिमानबासीहरु सरकारका नभएको गुनासो गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्ला स्तरीय मानवअधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा २०७५ मंसिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भएको भुकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा नागरिकहरुले यसरी गुनासो राखेका हुन । कार्यक्रममा गुनासो राख्दै २०१८ सालदेखि ऐलानीमा बसोबास गरेका भिमानबासीलाई राज्यले नै उपेक्षा गरेको स्थानीय घनेन्द्र कार्कीले गुनासो गरेका छन । निवृत शिक्षक समेत रहेका कार्कीले राज्यले नै बसोबासमा नागरिकलाई उपेक्षा गर्नुले मानवअधिकारको समेत हनन भएकोमा इन्सेकले बोलिदिनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा बोल्ने अधिकांश भुकम्पपीडितले राज्यले नै भुकम्पपीडितलाई लालपूर्जाका नाममा विभेद गरेको बताए । उनीहरुले लालपूर्जा नभएको भन्दै भुकम्पपीडितलाई राहत र पुनःनिर्माणमा समेत उपेक्षाको व्यवहार गरेको गुनासो गरेका हुन ।
कार्यक्रममा भुकम्पपीडितका गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले पुसमा हुने परिषदबाट बजेट नै छुट्याएर ऐलानी जग्गाको लगत लिने र स्थायी लालपूर्जा वितरणको लागि प्रक्रिया अगाडि बढाईने बताएकी छिन । उनले लालपूर्जाको विषयमा प्रदेश तथा संघिय सरकारसँग बहस भईसकेको र काम अगाडि बढाउन काम गर्ने सहमति बमोजिम काम गर्न लागिएको बताईन । उनले मापदण्ड अनुसार घर बनाएर किस्ता नपाएकाहरुले तत्काल पाउने गरि काम अगाडि बढाईने तथा सर्वेक्षणमा छुटेका नगरका वडाहरुमा पुनः सर्वेक्षण समेत गरिने बताईन ।
कार्यक्रममा बोल्दै उनले भुकम्पको पुनःनिर्माणका लाभग्राहीलाई मापदण्डमा रहेर घर बनाउन समेत आग्रह गरिन । उनले गुनासोको सुनुवाई निरन्तर भईरहेकाले गुनासोको समेत सुनुवाईको केहि आशा रहेको समेत बताईन । घर भत्केर पुनःनिर्माणको चरणमा नपरेका पीडितहरुलाई स्थानीय सरकारले जिम्मेवारी पाएमा समस्या समाधान गर्न तयार हुनेमा विश्वास गर्न आग्रह गरिन ।
कार्यक्रममा बोल्दै कनपा ९ का वडाध्यक्ष देवराज पौडेल, वडा नं. १० का वडाध्यक्ष रामहरि ढुंगेलले वडाको भुकम्पपीडितको राहत तथा पुनः निर्माणको अवस्थाको बारेमा जानकारी दिदै नागरिकका गुनासा सम्बोधन गर्न, पुनःनिर्माणमा सहजीकरण गर्न र लाभग्राहीको सूचिमा आएका लाभग्राहीको सम्झौता गर्न आफुहरु तयार रहेको बताए ।
स्थानीय समाजसेवी अर्जुन प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्तरीय मानवअधिकार सञ्जालका संयोजक द्वारिका काफ्लेले विषयवस्तुमाथि प्रकाश पारेका थिए भने इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।






















