सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित भएका छन । फागुन २७ गते सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन । उनी ५ सय ९७ मत सहित विजयी भएका छन ।
बुधबार विहान सम्पन्न मत गणना अनुसार श्रेष्ठले अध्यक्षका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठलाई २०९ मतान्तरले पराजित गरेका हुन । राजकुमारले ३ सय ८८ मत प्राप्त गरेका छन । अर्जुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । उनी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धनका उमेदवार थिए ।
१३ पदका लागि भएको मतदानबाट बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठ प्रतिस्पर्धी गठबन्धनका साझा उमेदवार विरवल चौधरीलाई ४५ मतको अन्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।
यस्तै महासचिवमा गठबन्धनका साझा उमेदवार बासु भेटुवाल निर्वाचित भए । उनले स्वतन्त्र उमेदवार मेघ बहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन । भेटुवालले ६४६ मत प्राप्त गरे भने कार्कीले २६६ मत प्राप्त गरेका छन ।
यस्तै उपमहासचिवमा पनि स्वतन्त्र उमेदवार विजयी भए । स्वतन्त्र उमेदवार नेत्रजंग थापा ४३० मत सहित विजयी भए । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार युवराज श्रेष्ठलाई पराजित गरे । श्रेष्ठले ३७४ मत प्राप्त गरे भने अर्का प्रतिस्पर्धि स्वतन्त्र उमेदवार सोनी कुमारी झाले १०४ मत प्राप्त गरिन । यसैगरि महिला सचिवमा गठबन्धनका साझा उमेदवार सृजना श्रेष्ठ ५४१ मत सहित विजयी भईन । उनका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार रेजिना श्रेष्ठले ३४१ मत प्राप्त गरिन ।
यस्तै वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी विजयी भए । १४ मत मध्ये ११ मत लिएर उनी विजयी भएका हुन । उनले प्रतिस्पर्धी स्वतन्त्र उमेदवार विजय कुमार बस्नेतलाई पराजित गरेका हुन ।
यस्तै पाँच जना खुल्ला सदस्यका लागि भएको निर्वाचनमा सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, राम बहादुर विश्वकर्मा र रामचन्द्र पौडेल विजयी भए । निर्वाचनमा वस्तुगत तर्फ १४ मत सहित १ हजार १५ मत खसेको थियो । सिन्धुली उद्योग वाणिज्य संघमा १ हजार १ सय ४७ मतदाता रहेका थिए ।
यसअघि नै आठ पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नविन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, वाणिज्य सचिवमा गोविन्द खड्का, उद्योग सचिवमा प्रकाश काफ्ले, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लालमान तामाङ निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै आजिवन तर्फ सदस्यमा दिगम्बर चौधरी, एशोसियट तर्फ सदस्यमा शाह आलम साफी, महिला सदस्यमा शुसिला श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित भएका थिए।




















