सिन्धुली । ३२ औं सहिद सम्झना स्मृति दिवस विहिबार सिन्धुलीमाढीमा मनाईएको छ । दिवसका अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगिता एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार राजकुमार कार्की सहित ९ जनालाई नगद, प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
सम्मानित हुनेमा साहित्यकार, शिक्षक, विद्यार्थी रहेका छन । अनेरास्ववियु सिन्धुली र सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजना गरिएको कार्यक्रममा यस वर्षको सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका सिन्धुली संवाददाता राजकुमार कार्कीलाई प्रदान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले नगद ५ हजार राशी सहित विहिबार पुरस्कार प्रदान गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष एवं सम्झना दाहालका पिता शेषराज दाहाल र अनेरास्ववियुका नेताहरुले पत्रकार कार्की सहित शिक्षा क्षेत्रमा योगदान दिएका सिद्धवावा मावि पानीट्यांकीका प्रधानाध्यापक धनमाया राई, साहित्यकार केशव कुमार फुयाँल (साईला बाजे) लाई सम्मान गरेको छ । उनीहरुलाई पाँच पाँच हजार नगद सहित सम्मान गरिएको हो ।
यस्तै एसईई २०८० मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ल्याउने छात्राहरु चार जना, दलित एकजना र जेहेन्दार विद्यार्थी एकजना गरि ६ जना विद्यार्थीलाई सो अवसरमा सम्मान गरिएको छ । उक्त अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने गौमती मावि सिन्धुलीकी सोविच्छा कार्की, जनज्योति मावि फोस्रेटारकी जिजिविषा ढकाल, चन्द्रावती मावि बेलघारीकी असिमा दाहाल र मावि आम्बोटेको युरी चौधरी सम्मानित भएका छन ।
यस्तै गरिब जेहेन्दार विद्यार्थी कमला मावि करकरेका विद्यार्थी सुस्मिता श्रेष्ठ र ज्ञानोदय मावि भिरगाउँका संगिता कुमारी वाईवा सम्मानित भएका छन । सम्मानित हुने विद्यार्थीहरुलाई सम्मानपत्र सहित जनही चार हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सहिद सम्झानाका पिता शेषराज दाहालको अध्यक्षता एवम अनेरास्ववियुका बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सहिद सम्झना दाहालको २०४९ सालमा टनकपुर सन्धिको विरोधमा चलेको आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएको थियो । दाहाल कक्षा १० मा पढ्दै थिईन । सम्झना १४ वर्षकी थिईन । हालसम्म सरकारले पटक पटक पहल गर्दा समेत औपचारिक रुपमा सम्झनालाई सहिद घोषणा गरेको छैन ।






















