सिन्धुली । ११५ औं अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा सिन्धुलीमाढीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ । महिला कृषि उद्यम मेला आयोजक समितिको आयोजनामा तीन दिने मेला सिन्धुलीमाढीमा हुने छ ।
फागुन २३, २४ र २५ गते मेलाको आयोजना गर्न लागिएको मेला आयोजक समितिका सदस्य सचिव बिमला थापाले जानकारी दिएकी छिन ।
उनले बुधबार विहान सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी गराएकी हुन । उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोत साधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउने उद्देश्यले मेलाको आयोजना गरिएको थापाले बताईन ।
मेला व्यवस्थापन समितिका संयोजक विमला कुमारी भुजेलले महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न यस मेलाले थप प्रेरित गर्ने बताईन । मेला आयोजक समितिका सदस्य सिता पाण्डेका अनुसार मेलामा कम्तिमा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु रहनेछन्, जसमा ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
मेलामा योगाभ्यास, बालबालिकाहरुका लागि मनोरञ्जनात्मक गतिविधिहरु, विभिन्न प्रतियोगिता, विद्यार्थीहरुको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुती, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषयक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम समेत मेलाका मुख्य आकर्षण हुनेछन् ।
मेलामा १० हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने लक्ष आयोजकको रहेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने आयोजकको विश्वास छ । सिमित बजेट र स्थानीय श्रोतमा महत्वपूर्ण कार्य गर्न सकिन्छ भन्ने कुराको उदाहरण मेलाले प्रस्तुत गर्ने आयोजक समितिका अर्का सदस्य विमला श्रेष्ठले बताइन । मेलामा १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
जिल्ला समन्वय समिती उपप्रमुख शान्ता कार्कीले महिला उद्यमी मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।
बागमती प्रदेश सरकार, स्थानीय सरकार, कृषि विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सिड्स नेपाल, मुना कृषि लिमिटेड लगायत विभिन्न सरकारी–गैरसरकारी संघसंस्थाहरुको सहयोग तथा सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाईमा मेला सञ्चालन हुने छ ।
मेलामा बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहनेछ भने जिल्लाका ९ वटै पालिकाका जनप्रतिनिधिहरु बागमती प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागिता रहने छ ।






















