अवको देशको भविष्य विद्यार्थीको हातमा : सांसद खड्का
सिन्धुली , विजया दशमी, शुभ दीपावली, ल्होसार, छठ पर्व तथा नेपाल संवतको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान र कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्धज्योति शिक्षा क्याम्पसको आयोजना तथा प्रदेश नं. ३ का सांसद विनोदकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिँदै खड्काले आजका विद्यार्थी वर्ग नै भोलिका देश चलाउने नेतृत्व वर्ग हुने बताए ।अवको देशको भविष्य विद्यार्थीको हतामा रहेको बताउँदै उनले हरेक क्षेत्रमा रहेर देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा योगदान पु¥याउने सम्पूर्ण व्यक्तित्व विद्यार्थीबाट नै आएका बताउँदै उनले विद्यार्थीले पढाईका साथसाथै अन्य अतिरिक्त कुरामा पनि ध्यान दिनुपर्ने बताए ।
अवको नारा भनेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ रहेको बताउँदै सांसद खड्काले उक्त नारा अनुसार देशलाई अगाडि बढाउन पनि विद्यार्थी वर्गको साथ, सहयोग आवश्यक रहेको बताए । यदी युवा विद्यार्थीहरुले देशप्रतिको श्रद्धा विर्सिए उनीहरुको मात्र हैन समग्र देशको भविष्य नै अन्धकारतर्फ मोडिने उनको भनाई छ ।
हाल तिनै तहको सरकार बनिसकेको हुनाले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने QAA को प्रक्रियामा क्याम्पस गइरहेको र त्यसका लागि आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार क्रियाशिल रहेको उनको भनाई छ । हालको प्रदेश सरकारको बजेट विनियोजन भइसकेको हुनाले आफूले यही आर्थिक वर्षमा त्यस्तो ठूलो सहयोग गर्न नसके पनि आगामी आर्थिक वर्षमा प्रदेश सरकारमा प्रस्ताव राख्ने उनको भनाई थियो ।
हालको सन्दर्भमा नेपालका सामूदायिक विद्यालयहरुको नतिजा खस्कँदो अवस्थामा रहेको बताउँदै उनले त्यसको सुधारका लागि सामूदायिक विद्यालयहरु कटिबद्ध भएर लाग्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा अनेरास्ववियूका नेता टिकाजंग थापा, अखिल क्रान्तिकारीका नेता उत्तम पहाडी, क्याम्पसका क्याम्पस प्रमुख अर्जुन दाहाल, प्राध्यापक नानीबाबु घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्य केशब कुमार फुयाल लगायतले मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रमलाई रोचक बनाउन सिन्धुली आइडलका विजेता बाबुलाल भोलन लगायत विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ता, क्याम्पसमा अध्ययनरत विद्यार्थी, अध्यापनरत प्राध्यापक, व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।























