सिन्धुली । प्रहरी चौकी हर्षाहिको नवनिर्मित भवन शुक्रबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका छन । भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रहरी सेवालाई ऊर्जामय, नवीन सोंच र गुणस्तरीय बनाउन आग्रह गरेका छन ।
मन्त्री लामिछानेले प्रहरीलाई नागरिकको सुरक्षामा अझ बढी मेहनत गर्न र संवेदनशिल हुन आग्रह गरे । उनले अपराध नियन्त्रणमा प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्नेमा समेत जोड दिए ।
तीनतलाको १४ कोठे भवनको उद्घाटन गरिएको हो । महिला तथा पुरुष थुनुवा कक्ष, कार्यालय प्रमुख कक्ष, रिसेप्सन, गार्ड रुम, महिला व्यारेक, पुरुष व्यारेक, मनोरञ्जन कक्ष सञ्चार कक्ष, कार्यालय प्रमुख निवास, भान्छा तथा डाईनिङ रुम, भान्सा तथा स्टोर रुम डाईनिङ कक्ष, शौचालय, स्नान कक्ष सहितको व्यवस्थापन हुने गरि भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार प्रथम चरणमा मनसरा सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले निर्माणको काम गरेको थियो भने दोस्रो चरणमा खानी चण्डेश्वरी जेभी बानेश्वर –१० काठमाडौले भवन निर्माणको काम गरेको थियो । भवन एक करोड ७४ लाख २८ हजार ७३४ मा सम्झौता भइ निर्माण कार्य सम्पन्न भएको एसपी काफ्लेले बताए । ७ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो । बागमती प्रदेश सरकारको बजेटमा निर्माण गरिएको हो ।
भवन उद्घाटन समारोहको अवसरमा जग्गादाता, भवन निर्माण कार्यमा उल्लेखनिय कार्य गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
स्व.फलामसिंह घिसिङले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । २०७८ बैशाख २३ गते मनसरा सप्लायर्स एण्ड कन्ट्रक्सनसँग पहिलो चरणको निर्माण सम्झौता भएपछि भवन निर्माणको काम सुरु भएको थियो ।
























