सिन्धुली । चीनको स्वशासित क्षेत्र तिब्बतबाट बुधबार बिहान अचानक आएको बाढीका कारण रसुवा जिल्लाको भोटेकोशी नदी क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पु¥याएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिन्धुलीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण सयौँ नागरिक बेपत्ता भएका छन् भने अरबौँ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त हुँदा भोटेकोशी, वेत्रावती, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका विभिन्न बस्तीहरूमा जनजीवन प्रभावित भएको बताउँदै राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सरकार समक्ष माग गरेको हो ।
एमाले सिन्धुलीले उक्त विपदमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजबिन, घाइतेको उपचार र विस्थापितहरूका लागि खाद्यान्न, खानेपानी, कपडा र औषधि जस्ता अत्यावश्यक राहत सामाग्री सहित सुरक्षित आवासको प्रबन्ध गर्न नेपाल सरकार, बागमती प्रदेश सरकार र स्थानीय तहहरुसँग समेत अपिल गरेको छ ।
अवरुद्ध सडक, पुल, विद्युत्, सञ्चार तथा खानेपानीको तत्काल अस्थायी व्यवस्थापन गरी जनजीवन सामान्य बनाउन एमालेको माग रहेको छ ।
यस्तै एमालेले बाढीको उच्च जोखिममा रहेका रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुर लगायतका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह समेत गरेको छ ।
एमालेले जारी गरेको विज्ञप्तीमा कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका र हाल सम्पर्क विहीन भएका सिन्धुली जिल्लावासीहरूका लागि विशेष खोजी तथा उद्धारमा सहयोग गर्न समेत अनुरोध गरिएको छ ।
विपत्तिको यस घडीमा राज्यका सबै निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था र आम नागरिकलाई एकजुट भई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न एमाले सिन्धुलीले आह्वान गरेको छ ।




















