सिन्धुली । नेपाल पत्रकार सिन्धुलीका सल्लाहकार एवम् पत्रकार नविन श्रेष्ठलाई प्रहरीले धरपकड गरेको छ । उनलाई मंगलबार दिउँसो फोन गरेर भेटघाट गर्ने काम छ भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बोलाएर अढाई घण्टा प्रहरी कार्यालयमा राखिएको छ ।
रास्वपाबाट निर्वाचित सिन्धुली क्षेत्र नं. १ का सांसद धनेन्द्र कार्कीको उजुरीका आधारमा उनलाई प्रहरी कार्यालयमा बोलाएर मानसिक यातना दिईएको हो । श्रेष्ठलाई प्रहरीले सोमबारदेखि नै फोन गरेको थियो । डिएसपी सावले भेटघाट गर्न बोलाउनु भएको छ भन्दै बोलाईएको र धेरै पटक फोन आएपछि प्रहरी कार्यालयमा गएको श्रेष्ठले बताएका छन् । उनले भनेका छन्, ‘सोमबार दिउँसो देखि नै फोन आएको थियो । किन भनेर बोलाउँदा भेटघाट गर्न डिएसपी सावले बोलाउनु भएको छ भनियो । प्रहरी कार्यालयमा पुगेपछि उजुरी परेको थाहा पाएँ ।’
उनलाई केरकार गर्दै अढाई घण्टा राखेपछि हाजिरी जमानी तारेखमा छोडिएको छ । पक्राउ पूर्जि मागेपछि उनलाई उनी कार्यरत पत्रिका सिन्धुली अपडेटका सम्पादक ध्रुवचन्द्र खड्काको जिम्मा लगाई छोडिएको हो । पत्रकार श्रेष्ठ उक्त साप्ताहिकका सहसम्पादक हुन् ।
बुधबार विहान ७ बजे प्रहरी कार्यालयमा पुनः उपस्थित हुने गरि रातभरका लागि छोडिएको पत्रकार श्रेष्ठले बताएका छन् । उनका अनुसार डिएसपी विजय श्रेष्ठले रात परेपछि घर जानु र भोली विहान ७ बजे नै आउनु । प्रहरीमा आएको कसैलाई नभन्नु भनेको पनि श्रेष्ठले बताएका छन् ।
सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीले १६ जनाको सचिवालय बनाएको बिषयमा फेसबुक मार्फत असहमति जनाएको भन्दै मानहानीको मुद्दा हालेको प्रहरी कार्यालय पुगेपछि थाहा पाएको श्रेष्ठले बताएका छन् । फेसबुक स्टाटसमा लेखिएको शब्दले मानहानी गरेको भन्दै कार्कीले उजुरी हालेको र सोहि उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई सोधपुछका लागि कार्यालयमा बोलाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले बताएका छन् । उक्त उजुरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको उजुरी शाखामा दर्ता भएको पनि उनले जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य कार्की उपस्थित नभएकाले छलफल नभएको डिएसपी श्रेष्ठले बताए । माननीय आएपछि छलफलका लागि बोलाउँछौं, उनले भनेका छन् ।
पत्रकार श्रेष्ठप्रति गरिएको धरपकडप्रति पत्रकार, नागरिक समाज, युवा, व्यवसायी लगाएत सचेत नागरिकहरुले आलोचना गरेका छन् । उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको र सामान्य आलोचना समेत सहन गर्न नसकेको भन्दै कार्कीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् । उक्त घटनालाई बोल्ने मुख थुन्ने प्रयास र संविधान र लोकतन्त्रको धज्जि उडाएको समेत भनेका छन् ।





















