सिन्धुली । जिल्लाका दुई वटा स्थानीय तहबाट भूमि प्रशासन सेवा सुरु हुने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये दुधौली नगरपालिका र मरिण गाउँपालिकाबाट भूमि प्रशासन सेवा सुरु हुन लागेको हो ।
भुमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पहिलो चरणमा सिन्धुलीका दुई सहित ३५ स्थानीय तहलाई भूमि प्रशासन सेवा प्रदान गर्न स्वीकृत प्रदान गरेको हो । मन्त्रालयमा देशभरका २ सय १४ स्थानीय तहले भूमि प्रशासन सेवा प्रदान गर्नका लागि आसय पत्र पेश गरेका थिए । ती मध्ये पहिलो चरणमा सिन्धुलीका मरिण गाउँपालिका र दुधौली नगरपालिका समावेश भएका छन् ।
सेवा प्रवाहका लागि छनौट भएका स्थानीय तहका नागरिकले भुमि प्रमाणपत्र, नक्सा बनाउने, जग्गा दर्ता, जग्गा हकदावी प्रमाणपत्र लगाएतका भूमि सम्बन्धि प्रशासनिक सेवा छनौट भएका सम्बन्धित स्थानीय तहबाट पाउने भएका छन् । मन्त्रालयले सेवा प्रवाहका लागि सबै स्थानीय तहलाई बुधबार नै पत्र पठाईसकेको छ ।
सिन्धुलीका दुई सहित बाग्मती प्रदेशका नौ वटा स्थानीय तह भूमि सेवा प्रवाहका लागि छनौट भएका छन् । त्यस्तै मधेश प्रदेशबाट ३, गण्डकी प्रदेशबाट ३, कर्णाली प्रदेशबाट २, सुदुरपश्चिमाञ्चल प्रदेशबाट २, लुम्बिनी प्रदेशबाट ४ र कोशी प्रदेशबाट १२ वटा स्थानीय तहले भूमि सेवा दिन छनौटमा परेका छन् ।























