सिन्धुली । सोमबारको वर्षा र रोशीमा आएको बाढीका कारण पानीको वहाव बढ्दा विपी राजमार्ग अन्तर्गतको रोशीको डाईभर्सनमा चार वटा हायस फसेका छन् । रोशी गाउँपालिका वडा नं. ७ घुमाउनेमा हायस फसेपछि उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनको टोली उद्धारमा खटिएको छ ।
साठी, पैंसठ्ठी जना यात्रुहरु हायसमा रहेको अनुमान गरिएको छ । डाईभर्सन सडकको दुवैतर्फबाट पानीको वहाव भएकाले उनीहरुको उद्धारमा समस्या भएको छ ।
यात्रु तथा सवारी साधनहरु सुरक्षित रहे पनि जोखिममा रहेका छन् । प्रहरीका अनुसार पानीको वहाव घटिरहेकाले उनीहरुको उद्धार हुने प्रहरीले जनाएको छ ।
यस्तै विपी राजमार्गको टुप्पीडाँडा नजिकै लेदो सहितको पहिरोका कारण पहिरोमा फसेका सवारी साधनलाई पहिरो सफा गरि सिन्धुलीतर्फ फर्काईएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट दुम्जाले एक्साभेटरको सहयोगले पहिरो पन्छाइ बाटो सुचारु गराई सिन्धुलीतर्फ फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै रोशी खोलामा पानीको बहाव बढेकाले बिपि राजमार्गको नेपालथोक–भकुण्डे सडकखण्डमा सवारी साधनको आवागमन समेत बन्द गरिएको छ । यस्तै काभ्रे प्रशासनले पनि विपी राजमार्ग बन्द रहेको जनाएको छ ।






















