सिन्धुली । नेकपा एमाले सिन्धुलीले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्ने भएको छ । नेकपा एमालेका केन्द्रीय सचिवालय वैठकको निर्णय कुरेको एमाले सिन्धुलीले केन्द्रीय निर्णय अनुसारको कार्यक्रम गर्ने जनाएको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार गैह्र कानुनी गिरफ्तारीका विरुद्ध तय भएका विरोधका कार्यक्रमहरु गर्नका लागि तयारी भईरहेको बताए ।
ओलीको गिरफ्तारीपछि नेकपा एमालेको सिन्धुलीमाढीमा रहेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरु भेला हुने, छलफल गर्ने गरिरहेका छन् ।
एमालेका केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । जस अनुसार आज (शनिबार) जनसंगठनहरुको आयोजनामा विरोधका कार्यक्रम गर्ने र आईतबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएका छन् ।
जेनजी आन्दोलनको छानविन गर्न बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा तत्कालिन प्रधानमन्त्री ओलीलाई शनिवार विहान निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।





















