सिन्धुली । जन्मदिनको अवसर पारेर सिन्धुलीकी दिलकुमारी देवकोटा (दीपा) ले ह्वीलचियरमै बञ्जीजम्प गरेकी छिन् । अपांगता भएकी महिलाले ह्वीलचियर सहित बञ्जीजम्प गरेको नेपालमै पहिलो रहेको समेत बताईएको छ ।
कमलामाई नगरपालिका वडा नं. ४ निवासी उनले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट बन्जी जम्प गरेकी हुन् । देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपांगता बाधा नभएको सन्देश समेत दिएकी छिन् ।
स्पाइनल सम्बन्धि शारीरिक अपांगता भएकी उनी अपांगता अधिकारको क्षेत्रमा क्रियाशिल समेत छिन् । बञ्जी जम्प गरेपछि उनले भनेकी छिन्, ‘अपांगता कमजोरी होइन । आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौं । मेरो यो प्रयासले अपांगता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’
उनले बञ्जीजम्प गरेपछि फेसबुकमा लेखेकी छिन्, ‘आज मेरो जन्मदिन, मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु किनकी एउटी सक्षम र साहसी छोरीलाई जन्मदिनु भएकोमा र अपांगताले मेरो जीवनको कुनै पनि अध्यायलाई रोक्ने छैन । त्येसैले मेरो जन्मदिने अभिभावक र मेरो जन्मदिन मेरा लागी सधै खास छ । यसअघि उले पोखरामा प्याराग्लाईडिङ उडान समेत गरेकी छिन् ।
यसअघि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का दिलीप सापकोटा र सिन्धुली कमलामाई नगरपालिका वडा नं. ५ का शिशिर दाहालले सिन्धुपाल्चोकको भोटेकेशी नदीमाथिको झोलुंगे पुलबाट ह्वीलचियरसँगै बन्जी जम्प गरेका थिए ।





















