सिन्धुली । जुनारको राजधानी मानिएको गोलञ्जोरको तिनकन्या माझकुभिण्डेमा लाग्ने पहिलो जुनार प्रवद्र्धन मेला २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । गोलञ्जोर गाउँपालिकाको आयोजना तथा कृषिसँग सरोकार राख्ने निकायहरुको सहकार्यमा मंसिर २३, २४ र २५ गते गोलञ्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या माझकुभिण्डेमा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको गोलञ्जोर गाउँपालिका सिन्धुलीले जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले मेलामा ९ हजार बढी दर्शकले मेलाको प्रत्यक्ष अवलोकन गर्ने आँकलन गरिएको जनाएको छ । जुनारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जुनार मेलाले जुनार विकास र विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको गाउँपालिका अध्यक्ष शंकर बरालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मेलामा १६ लाख ५० हजार रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । जुनार मेलामा जुनार बगैंचाको अवलोकन, जुनार नर्सरीहरुको अवलोकन गर्न पाईने छ । जुनारका परिकारहरुको स्वाद लिन पाईने छ । मेला स्थलमा अन्य स्थानीय कृषि उत्पादनलाई समेत प्रदर्शनीमा राखिने छ । यस्तै गाउँपालिका भित्रका अन्य उत्पादनहरुलाई समेत स्टलमा विक्री र प्रदर्शनीका लागि राखिने छ ।
गोलञ्जोर गाउँपालिका मुख्य आयोजक रहेको मेलामा कृषि तथा पशुपंक्षी मन्त्रालय बागमती प्रदेश, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, कृषि विकास कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली, पूर्वाधार विकास कार्यालय सिन्धुली, जुनार विकास संघ सिन्धुली, जुनार सहकारी संघ सिन्धुली लगाएतका संघसंस्थाहरुको सहकार्य रहने छ ।
जुनार प्रवद्र्धन मेलामा ४ सय बढी जुनारका विरुवा लगाउने स्थानीय किसानहरु, जुनार प्रवद्र्धन तथा जुनार प्रशोधन विविधिकरणमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने छ । मेलाको उद्घाटन बागमती प्रदेशका कृषि मन्त्री मधुसुदन पौडेलले गर्ने भएका छन् । मेलामा विभिन्न जातजातीको पहिचान झल्कने पोशाक, झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ । जुनार प्रवद्र्धन मेलामा मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुतिहरु समेत रहने छन् ।
पर्यटकहरुले जुनारको बगैंचामै आफै जुनार टिपेर खाने सुविधा हुनेछ । यसले कृषि पर्यटनलाई समेत प्रवद्र्धन गर्ने आयोजकको दावी रहेको छ । यो मेलामा कृषकहरुसँग प्राविधिक वार्तालापको समेत व्यवस्था मिलाईएको छ ।
गोलञ्जोर गाउँपालिका जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने क्षेत्र हो । यहाँ ९ हजार १२१ मेट्रिकटन जुनार उत्पादन हुन्छ । जसमध्ये बजार जान सक्ने जुनार उत्पादन ६ हजार २१८ मेट्रिकटन जुनार रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र २ हजार ७ सय ५० जना कृषकहरु जुनार उत्पादन र प्रवद्र्धनमा जोडिएका छन् । गोलञ्जोर गाउँपालिकाका ७ वटै वडामा जुनार उत्पादन हुन्छ तर वडा नं. ४ का माझकुभिण्डे, मालिङ्गे, आलेगाउँ, डाँडागाउँमा जुनार उत्पादन अत्यधिक हुने गरेको छ ।
जुनार बगैंचामा यसको औसत मुल्य ५५ रुपैंया केजी रहेको छ । गोलञ्जोर गाउँपालिकामा मात्र जुनारबाट चौतिस १९ लाख ९० हजार रुपैंया आम्दानी हुने गरेको छ ।





















