सिन्धुली । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले नेपाली मनले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने जस्ता विध्वंश गर्न नसक्ने बताउँदै देशभक्त तथा संविधानको रक्षा गर्ने शक्तिहरु एक हुनुपर्ने बेला भएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी कार्यालयमा एमालेका नेता तथा कार्यकर्ताहरुसँग भेटघाटका क्रममा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई पोलिटिकल भाईरसको संज्ञा दिंदै यस्तो बताएका हुन ।
उनले नेकपा एमाले सिन्धुलीको जेनजी आन्दोलनका क्रममा आगजनी भई ध्वस्त भएको भवनको अनुगमनपछि नेपाल र राष्ट्रवादी शक्ति एमाले विरुद्ध अमेरिका, तिब्बत र भारतले त्रिपक्षिय योजनावद्ध हमला गरेको बताएका छन् ।
बरालले विदेशी शक्तिहरुले नेपाललाई रणभूमि बनाउन चाहेको दावी समेत गरे । उनले जेनजीहरुलाई विदेशी चलखेललाई साथ दिई देशको संविधान च्यात्ने र कुल्चने काम नगर्न आग्रह समेत गरेका छन् । उनले भने, ‘नेपालीहरुको लामो संघर्ष र बलिदानबाट बनेको विश्वकै उत्कृष्ट भनिएको संविधान च्यात्ने हैन, बरु समय अनुसार संशोधन गर्न सकिन्छ ।’
उनले नेपाललाई कमजोर बनाउने र देशको सार्वभौमिकतामा हस्तक्षेप गर्ने खेललाई नेपालीहरुले बुझ्नुपर्ने बताए । जेनजी आन्दोलन अहिलेसम्मकै फरक आन्दोलन भएको बताउँदै आन्दोलनको दस्तावेजीकरण गर्न समेत उनले आग्रह गरेका छन् ।
उनले नेपालको भुराजनीतिक अवस्था, विगतका राजनीतिक परिवर्तनका विषयमा जेनजी र जेन अल्फा पुस्तालाई बुझाउन आवश्यक रहेको समेत यो आन्दोलनले महसुस गराएको बताए ।




















