सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले झण्डैै ५ करोड बराबरको भौतिक क्षति भएको आँकलन गरेको छ । जेनजी आन्दोलनका कारण कमलामाई नगरपालिका र ३ वटा वडा कार्यालयमा ४ करोड ७१ लाख ७८ हजार ३६६ भन्दा बढी क्षति भएको प्रारम्भिक विवरण उल्लेख गरेको छ ।
जेनजी आन्दोलका कारण नगरपालिका र वडा नं. ४, ५ र ६ को वडा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण भएको प्रारम्भिक क्षति कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।
आन्दोलनपछि मंगलबार बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी सहितका कर्मचारीलाई कारवाहि गर्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाको सेवा सुविधा लिई जेनजीको आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न ज्यालादारी, अस्थायी, स्थायी, करार लगाएतका सेवामा कार्यरत कुनै पनि शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, कर्मचारीलाई कारवाहि गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बताएका छन । त्यस्ता व्यक्तिहरुलाई सेवा सुविधा रोक्का गरि सेवाबाट हटाउने निर्णय भएको पोखरेलले जानकारी दिएका छन ।
आन्दोलनका क्रममा नगरपालिका र वडाको भौतिक क्षति गराउने व्यक्तिलाई कारवाहिको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने पनि बैठकको निर्णय छ ।
यस्तै बैठकले जेनजी आन्दोलनको क्षति र विषम परिस्थितिलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बार्षिक नगर योजनामा उल्लेखित कुनै पनि योजना तथा कार्यक्रमहरु अर्को निर्णय नहुन्जेलसम्मका लागि सम्झौता र सञ्चालन नगर्ने निर्णय गरेको छ ।
नगरपालिकाले इन्धनको बजेटमा समेत कटौती गर्ने भएको छ । कार्यालयको कामका लागि सामान्य तेलको कुपनमार्फत खर्च गरिने र विशेष कुपन हटाईने निर्णय गरेको हो ।
नगरपालिकाले आन्दोलनको क्रममा बचेका क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको संरक्षण तथा पुनःनिर्माणमा सहकार्य गर्दै दैनिक सेवा प्रवाह गर्न सक्षम नभएसम्मका लागि आपतकालिन सेवा र दैनिक प्रशासनिक काम गर्ने निर्णय समेत गरेको छ ।
बैठकले विषम परिस्थितिमा संविधान र लोकतन्त्रलाई जोगाउन उल्लेख्य प्रयत्न गरेको भन्दै राष्ट्रपति रामवरण यादवलाई धन्यवाद दिएको छ भने जेनजी आन्दोलनमा ज्यान गुमाउने प्रति श्रदाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै आन्दोलनमा घाईते हुनेहरुप्रति स्वास्थ्यलाभको कामना समेत गरेको छ ।




















