सिन्धुली । हरिहरपुरगढी गाउँपालिका सिन्धुलीले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६१ करोड १३ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको मंगलबार सम्पन्न २१औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले उक्त बजेट प्रस्तुत गरेका छन ।
बजेटमा कृषि, शिक्षा, पर्यटन र सडक लगायत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । यस अघि अध्यक्ष बज्रध्वज वाइबाले गाउँसभामा प्रस्तुत गर्नुभएको ‘समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा–कृषि–वन–पर्यटन र पूर्वाधार’ भन्ने नीति र नारालाई साकार बनाउने गरी बजेट व्यवस्था गरिएको उपाध्यक्ष थिङले सभामा बताएका छन ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट १० करोड ८१ लाख र प्रदेश सरकारबाट ९९ लाख २६ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान बापत प्राप्त हुने रकम राखिएको छ । यस्तै राजस्व बाँडफाँड मार्फत संघीय सरकारबाट ११ करोड ५१ लाख ३६ हजार रुपैयाँ र प्रदेश सरकारबाट चार करोड ९७ लाख १० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ४० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
सशर्त अनुदानतर्फ संघीय सरकारबाट चालुतर्फ २० करोड ४३ लाख रुपैयाँ र पुँजीगततर्फ चार करोड १७ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ । प्रदेशबाट सशर्त अनुदान चालुतर्फ एक करोड ५९ लाख ६ हजार र पुँजीगत ५० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
संघीय सरकारबाट विशेष अनुदान चालुतर्फ एक करोड ६५ लाख रुपैयाँ र समपूरक अनुदान ९३ लाख रुपैयाँ, प्रदेश सरकारबाट समपूरक अनुदान एक करोड ४० लाख रुपैयाँ, प्रदेश सरकारबाट विशेष अनुदान चालुतर्फ .५० लाख रुपैयाँ र गत वर्षको अनुमानित सञ्चित कोष वचत र अन्य प्राप्तिबाट एक करोड ७ लाख ७७ हजार ६ सय रुपैयाँ व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटमा वडागत योजनाहरुका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय प्रशासन तथा प्रशासनिक खर्चतर्फ १६ करोड ५३ लाख ६ हजार रुपैयाँ, सशर्त अनुदान अन्तर्गतका योजनाहरुका लागि चालुतर्फ २२ करोड २ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
लक्षित कार्यक्रमतर्फ २६ लाख ५० हजार रुपैयाँ, वन तथा वातावरणतर्फ पाँच लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३३ लाख ५० हजार रुपैयाँ विनियोजना गरिएको उपाध्यक्ष थिङद्वार प्रस्तुत बजेटमा उल्लेख छ । संघीय समपूरक र प्रदेश समपूरकतर्फ २ करोड ३३ लाख रुपैयाँ, नेवासँग साझेदारीमा खानेपानी आयोजनाका लागि ११ लाख रुपैयाँ, १५ शय्याको अस्पताल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ, विषयगत शाखाहरुका लागि ५९ लाख ४३ हजार रुपैया तथा भुक्तानी दिन बाँकी जितपुर खानेपानी मोटर खरिदका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसअघि सोमबार गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरे । गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकाबाट प्रदान हुने सेवा सुविधामा चुस्तता दिँदै जनअपेक्षाअनुरुप कार्य सञ्चालन गरी ‘समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा–कृषि–वन–पर्यटन र पूर्वाधार’ भन्ने नारालाई साकार बनाउने उनले नीति लिएको उल्लेख गरे । संघ र प्रदेश सरकारको नीति कार्यक्रम, आवधिक योजना, प्रतिनिधि तथा सरोकारवालाहरुको सुझावसमेतका आधारमा सवल, आत्मनिर्भर, आर्थिक विकास र वातावरणमैत्री गाउँपालिका बनाउने नीति समेत गाउँपालिकाले लिएको छ ।
नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकता दिइएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, हरिहरपुरगढीको तरबुजालाई ब्राण्डिङ गर्ने, कृषिको मुख्य आधार माटोको स्वास्थ्य सुधार अभियानलाई सफल बनाउन माटो परीक्षण गरी उर्वरता सुधारको व्यवस्था गर्ने, कृषि र पशुपालनलाई नवप्रवद्र्धनकारी योजना मार्फत थप व्यवस्थित र व्यावसायिक बनाउनेलगायत योजना अघि सारिएको छ ।
हरेक वडा र बस्तीहरुमा निर्माणधीन अवस्थामा रहेका सडकहरुको निर्माण र स्तरोन्नति गरी वर्षैभरि यातायात सञ्चालन योग्य बनाउने, आफ्नै जनशक्ति परिचालन गरी वर्षैभरि सडक मर्मत र सम्भारको काम गर्ने, दीर्घकालीन प्रभाव पार्ने विद्यालय भवन, स्वास्थ्य संस्थालगायत ठूला आयोजनाहरुको पहिचान गरी कार्यान्वयनका लागि पहल गर्ने, गाउँपालिकाका विभिन्न बस्तीहरुमा आवातजावतका लागि सहज बनाउन झोलुंगे पुल निर्माणका लागि समन्वय गर्ने लगायत योजना नीति तथा कार्यक्रम समेटिएका छन् र सोहीअनुसार बजेट विनियोजना गरिएको छ ।




















