सिन्धुली । वर्तमान नेपाली समाजको चित्रण सहितको सामाजिक चलचित्र झिल्को यतिबेला प्रदर्शनको क्रममा छ । बैशाख १९ गतेदेखि देशभर प्रदर्शन भईरहेको चलचित्र हाल सिन्धुलीका विद्यालयहरुलाई लक्षित गरि प्रदर्शन भईरहेको छ । जेठ ६ गतेदेखि कमलामाई पार्टी प्यालेस सिन्धुलीमाढीमा चलिरहेको चलचित्र प्रदर्शनी तेस्रो दिनमा चलिरहेको छ । दुई दिनमा एक हजार बढीले हेरेको चलचित्र विहिबारदेखि जिल्लाका विभिन्न विद्यालयमा विद्यालयहरुको अनुरोधमा विद्यालयमै पुगेर प्रदर्शन गरिँदै छ । सिन्धुलीमाढी र दुधौलीमा विहिबार विद्यालयमै पुगेर प्रदर्शन हुने झिल्कोको टिमले जनाएको छ ।
विद्यालयका बालबालिका, अविभावक र शिक्षक लक्षित गरि तीनदिनदेखि प्रदर्शन भईरहेको झिल्कोमा मोवाईलको कुलत लागु औषधको कुलत भन्दा पनि खतरनाक छ भन्ने विषयलाई चित्रण गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र मल्टिमिडियाको सहि ढंगबाट प्रयोग नहुँदा समाज र सम्बन्धित पक्षलाई हुने समस्यालाई चलचित्रमा चित्रण गरिएको छ ।
पत्रकारहरु अरुणदेव जोशी, देव व्रत र यादवकुमार भट्टराईको लेखन तथा झोला फिल्मका निर्देशक समेत रहेका पत्रकार यादव कुमार भट्टराईको निर्देशन रहेको चलचित्र झिल्कोमा पत्रकार विशाल पोखरेल, बालकलाकार आयुषी ढकाल, भोलाराज सापकोटा, जनवी बस्नेत, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगाएतको अभिनय रहेको छ । चलचित्रमा प्रविधि, इन्टरनेटसँगै मोवाईलको लतले पारेको सामाजिक, मानसिक, शारीरिक असरलाई चित्रण गरिएको छ ।
व्यस्त जीवन, बालबालिकालाई अविभावकले दिने मायामा कमी, मोवाईलका कारण भौतिक रुपमा सँगै भएर पनि एक्लो महसुस हुने र पारिवारिक तथा सामाजिक सम्बन्धहरु टुट्दै गएको समयमा प्रदर्शन भईरहेको चलचित्र झिल्को वास्तवमै समाज जागरणको झिल्को बन्ने देखिन्छ ।
आम मानिस यतिबेला सामाजिक सञ्जाल, मोवाईल र इन्टरनेटको कुलतमा परिरहेका बेला निर्माण भएको चलचित्रले अत्यधिक समस्याका रुपमा रहेको सामाजिक मुद्दालाई उठान गरेको छ । अविभावक नै डिजिटल प्लेटफर्ममा हराउँदा बालबालिकामा पर्ने असरलाई यो चलचित्रमा चित्रण गरिएको छ ।
चलचित्रका अभिनेता विशाल पोखरेलको शब्दमा भन्दा ९४ मिनेटको कथाले ७ दिनको एन्टीवायोटिकले भन्दा बढी मोवाईल लत छुटाउन मानसिक रुपमै तयार गर्ने औषधीको काम गरेको पाईएको छ । बालबालिकाले ९४ मिनेटको फिल्म हेरेपछि मोवाईल नहेर्ने प्रण गरेको चलचित्रका अभिनेता विशाल पोखरेलले बताए ।
मल्टिमिडिया सञ्चालक (पत्रकार) को कथालाई समेटिएको झिल्कोमा पत्रकारिता क्षेत्रमा रहेको आर्थिक संकट, श्रमजीवि पत्रकारको आर्थिक तथा पेशागत सुरक्षाको सवाललाई समेत मसिनो ढंगबाट केलाईएको छ । चलचित्रमा पत्रकारले भ्यूजका लागि विषयवस्तुलाई बंग्याउने, अतिरञ्जित गर्ने र समाचारलाई वार्गेनिङको विषय बनाउने गरेका पछिल्ला केहि घटनाक्रमलाई समेत चलचित्रमा चित्रण गरिएको छ ।
झिल्कोमा डिजिटल प्लेटफर्म सामाजिक सञ्जालबाट हुने ठगी र त्यसले परिवारमा ल्याउने बेमेललाई समेत देखाईएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका कतिपय सामग्रीले प्रहरी अनुसन्धानमा समेत प्रभाव पार्ने विषयलाई फिल्ममा छोइएको छ ।
पछिल्लो समयमा समाजमा भाईरल हुने नाममा हुने सामाजिक अभियन्ताको अभिनय, भाईरल हुन गरिने युटुव (मल्टिमिडिया) को प्रयोगलाई समेत देखाईएको छ । अभियन्ताको नाममा घटनाको गहिराईमा नपुगि बनाईने धारणा र सामाजिक हस्तक्षेपले परिवार र समाजमा पर्ने असरका बारेमा प्रस्ट गरिएको छ ।
विशेष गरी महिला अधिकारकर्मीको भूमिकामा रहेकी जानवी वस्नेतको अभिनयले यस कथालाई थप प्रभावकारी बनाएको छ । अधिकारकर्मीहरुको एकपक्षीय दृष्टिकोण र भूमिकाले अर्को पक्षलाई अन्याय गर्न सक्छ भन्ने कुरा योे भूमिकामा उल्लेख छ । चलचित्रमा बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले गरेको पारिवारिक विखण्डनलाई अति प्रभावकारी ढंगले प्रस्तुत गरिएको पाईन्छ । बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठूलो भूमिका खेलेको छ ।
अत्यन्तै आवश्यक र महत्वपूर्ण समयमा बनेको ‘झिल्को’ ले एउटा परिवार र स्कुलको कथा जस्तो देखिए पनि बालबालिका, अविभावक, शिक्षक, मनोचिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा मोवाईलको लतमा रहेका सबैको भूमिकालाई महत्वपूर्ण ढंगले उठाएको छ ।
हरेक व्यक्तिको लागि सिकाई र आत्म महसुस गर्ने सामाजिक विषय भएकाले यो चलचित्रले ठूलो आवाजमा सामाजिक मुद्दालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ । डिजिटल युगमा मोवाईल, इन्टरनेट र सामाजिक सञ्जालले हाम्रो जीवनशैलीलाई मात्र नभई मानसिक स्वास्थ्यलाई समेत गहिरो प्रभाव पारेको छ भन्ने विषय बुझाउन र हामीले चलाईरहेको मोवाईल कति खतरनाक छ ? भन्ने बुझाउन यो चलचित्र सफल देखिन्छ ।
चलचित्रको मुख्य भूमिकामा बाल कलाकार आयुषी ढकाल, पत्रकार विशाल पोखरेल र वर्षा सिवाकोटी रहेका छन । उनीहरुको भूमिकाले सिंगो समाजको कथा बोलेको छ । अभिनय जीवन्त र प्रभावकारी देखिएको छ । चलचित्रमा पारिवारीक माया र मेलमिलापले कुलतमा फसेकाहरु पनि फिर्न सक्छन भन्ने सन्देश समेत दिईएको छ । परिवारका सबै सदस्यले हेर्नैपर्ने कथा छ झिल्कोमा । बालबालिकाले चलचित्र बढी रुचाईरहेको चलचित्रका निर्देशक यादव कुमार भट्राईले बताएका छन ।




















