सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले संगठनका विभिन्न तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।
बुधबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन र बागमती प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय÷प्रदेश पदाधिकारी, सदस्यहरू र निवर्तमान केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालालाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा संगठनले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान समेत गरेको छ । संगठनका जिल्ला अध्यक्ष डिल्ली सौगात घिमिरेको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ वर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको छ ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा, निजामती कर्मचारी संगठनका निवर्तमान केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, एमाले जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका बागमती प्रदेश इन्चार्ज पुरुषोत्तम रायमाझी र सह–इन्चार्ज पुरुषोत्तम दाहाल लगायत उपस्थित थिए ।






















