सिन्धुली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सिन्धुलीले मंगलबार दुग्ध उत्पादक किसानलाई खाद्य स्वच्छता सम्बन्धि एक दिने सचेतनामूलक अभिमुखीकरण गरेको छ ।
कमलामाई नगरपालिका १ मा रहेको मरिण दुग्ध उत्पादक कृषि सहकारी संस्थामा आवद्ध रहेका दुग्ध उत्पादक किसानलाई एकदिने सचेतनामूलक अभिमुखीकरण गरिएको हो ।
कोशेली डेरी उद्योगको समन्वयमा गरिएको कार्यक्रममा ६९ जना किसानको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख पुष्पलाल राईले सहजीकरण गरेका थिए । कार्यक्रममा दुधको गुणस्तर कायम कसरी गर्ने भन्ने विषयमा किसानहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा दुध दोहन गर्दा सरसफाईमा गरिने सुधार, विरामी गाई भैसीको दुध उपभोग र विक्री नगर्ने, विरामी गाईभैसीलाई औषधी खुवाएपछि एक हप्तासम्म दुध विक्री गर्न नहुने, पशुलाई ढुसी परेको दाना, अन्न, गेडागुडी खुवाउन नहुने,दुधमा कुनै अन्य वस्तु मिसाउन नहुने लगाएतका विषयमा किसानलाई जानकारी गराईएको थियो ।





















