सिन्धुली । सिन्धुलीमा मंगलबार ३३ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईएको छ । जिल्लामा अपांगताका क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको संयुक्त आयोजनामा अपांगता दिवस मनाईएको हो ।
कार्यक्रमका अवसरमा आफु अपांग भएर अपांगता तथा सामाजिक आर्थिक लगाएतका क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा बहिरा युवा उद्यमी बालकुमारी बुढाथोकी, अपांगता अधिकारकर्मीहरु बविता थापा, शंकर चौलागाई, शिक्षक मञ्जु गौतमलाई सम्मान गरिएको छ ।
यस्तै अपांगता भएर सफल र उदाहरणीय जोडी बनेका धनबहादुर थापा र पुजा रायमाझी, ठगेन्द्रराज बख्रेल र ऋता सुवेदी, पुष्कर खतिवडा र शशी खतिवडाको जोडीलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि भुजेलले सम्मान गरेकी थिईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै भुजेलले तीनै तहका सरकारले अपांगता भएका व्यक्तिहरुका लागि नीति निर्माण र त्यसलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताईन । उनले कार्यान्वयनमा नल्याउने नीति सरकारले बनाउन नहुने र ऐन नियम र कानुन बनाईसकेपछि कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन । भुजेलले स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यक्रममा सहभागिता नजनाउनु सुखद नरहेको समेत बताईन ।
कार्यक्रममा बोल्दै पत्रकार बिमला पाण्डेले सरकारले नीति बनाएको तर कार्यान्वयनमा चासो नदिएका कारण अपांगता भएका व्यक्तिहरु समस्यामा परेको बताईन । उनले शिक्षा, स्वास्थ्य र रोजगारमा अपांगता भएका व्यक्तिहरुलाई सहज पहुँच पु¥याउने जिम्मेवारी राज्यको भएको बताईन । कार्यक्रममा कमलामाई नगरपालिकाका शिक्षा शाखाका अधिकृत हितकुमारी पौडेल, नेकपा एमालेका उपसचिव दिपेश बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विशाल तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाको अध्यक्षता एवम बागमति प्रदेशसभा सदस्य सुष्पा भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुली बहिरा संघका अध्यक्ष धन बहादुर थापाले स्वागत गरेका थिए भने नवज्योति बहिरा माविका प्रधानाध्यापक विजय तामाङले कार्यक्रम सहजीकरण गरेका थिए । दिवसका अवसरमा विभिन्न अपांगता अधिकारका सवालका प्लेकार्ड सहित ¥याली समेत गरिएको थियो ।
कार्यक्रम सिन्धुली अपांग महिला संघ, सिन्धुली अपांग संघ, अपांग कल्याण संघ, सिन्धुली अपांग बहिरा संघ, नवज्योति बहिरा मावि, बौद्धिक अपांग अभिभावक संघ लगाएतका संस्थाले संयुक्त रुपमा आयोजना गरेका थिए ।
























