सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले असोज ११ र १२ गते रोशी नदी, सुनकोशी नदी र बागमती नदिमा आएको बाढीका कारण प्रभावित गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई अति संकटग्रस्त पालिका घोषणा गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।
एमाले सिन्धुलीले प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेको हो । एमाले जिल्ला कमिटिले सोमवार प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमाले सिन्धुलीले गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण जिल्लाका तीन वटा स्थानीय तहहरु सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकामा रोशी, सुनकोशी नदी र आसपासका खोलाहरुबाट तटीय क्षेत्रका बस्तीहरु तथा हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का बस्तीहरूमा बागमती नदीमा आएको बाढीका कारण निम्तिएको प्राकृतिक विपत्तिले धनजनको व्यापक क्षति गरेको भन्दै क्षतिग्रस्त सबै स्थानीय तहलाई अति संकटग्रस्त क्षेत्र घोषणा गर्न माग माग गरेको हो ।
बाढीले विकास निर्माणका संरचनाहरू विनाश गरेर जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक विपत्तिमा परी २ जनाको ज्यान जानुको साथ सयौं नीजि घरहरू होटल तथा रिसोर्ट हजारौं हेक्टर बाली नाली सहितका खेतीयोग्य जमिनहरु विकास पूर्वाधारका संरचनाहरू व्यस्त भएको, जिल्लामा रहेका तीन वटा मुख्य राजमार्गहरू बीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गमा क्षति पु¥याएको भन्दै जिल्लाका गोलञ्जोर, हरिहरपुरगढी र फिक्कल गाउँपालिकालाई अति संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रदेश सरकारसँग माग गरेको हो । बागमति प्रदेशले सुनकोशी गाउँपालिकालाई मात्र अति संकटग्रस्त पालिका घोषणा गरेको थियो ।
दशैंको मुखमा जनजीवनलाई प्रभावित बनाउनुका साथै विद्युत सेवा, सूचना सञ्चार र प्रविधिमा पनि क्षती पुगेको नेकपा एमालेले स्मरण गराएको छ । साथै बाढी पीडितहरुलाई समान तवरबाट राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग समेत गरेको छ ।
एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापा, नेकपा एमालेका केन्द्रीय सदस्यहरु उमा कोइराला, कमलजंग राई, बागमति प्रदेश सदस्य विनोद खड्का, एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगाएतका जिल्लाका नेताहरुको सहभागितामा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले विपदमा नेकपा एमाले सहित राजनीतिक दलका नेतृत्वहरुले गरेको सहकार्य र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।





















