सिन्धुली । पछिल्लो छ महिनामा जिल्लामा ६७ मानवअधिकारका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पूर्व अर्धवार्षिक समिक्षा गर्दै सोमबार उक्त तथ्यांक सार्वजनिक गरेको हो । इन्सेकले गत वर्षको छ महिनाको तुलनामा चालु वर्षको ६ महिनामा मानवअधिकार उलंघनका घटनाहरु घटेको समेत जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सिन्धुली जिल्ला प्रतिनिधि नविनवावु अधिकारीले पछिल्लो समय मानवअधिकार हनन र उलंघनका घटनाहरुमा केहि कमी आएको भए पनि घटना उल्लेख्य रहेको बताएका हुन ।
उनका अनुसार जिल्लामा जनवरी १ देखि जुनसम्ममा बालअधिकार सम्बन्धि १० वटा घटना भएका छन भने महिलासँग सम्बन्धित ५७ वटा घटना भएका छन । जसमा १० जना बालिका र ५७ जना महिला पीडित भएका छन । जसमा बालिका बलत्कारका ६ वटा, यौनदुव्र्यवहार १ र बलत्कार प्रयासका २ वटा र मानववेचविखन १ वटा घटना भएको इन्सेकले जनाएको छ ।
यस्तै महिला अधिकारतर्फ घरेलु हिंसा ४९, बलत्कार प्रयास ३, हत्या १ र बहुविवाहका ३ वटा घटना भएको इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गतवर्षको ६ महिनामा जिल्लामा ४९ वटा घटना भएका थिए । राज्य पक्षबाट १ वटा घटना भएको र अन्य सबै घटना गैह्रराज्य पक्षबाट भएको समेत इन्सेकले जनाएको छ ।
समिक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले मानवअधिकारसँग सम्बन्धित घटना कम हुनु र राज्य पक्षबाट हुने घटना कम हुनु राज्यका लागि गौरवको कुरा भएको बताए । उनले मानवअधिकार उलंघन र हननका घटना कम गर्न सबैको जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले इन्सेकले मानवअधिकार उलंघनका घटनालाई व्यवस्थित दस्तावेजीकरण गरेर सबैलाई झकझकाईरहेको बताए । उनले इन्सेकको प्रतिवेदन नागरिक समाजको तर्फबाट गरिएको बलियो दस्तावेज तयार गरेको बताए ।





















