सिन्धुली । जिल्लामा एघार महिनाको अवधिमा २ सय ६७ जना व्यक्तिहरु लैंगिक हिंसाबाट प्रभावित भएका छन् । हिंसाबाट प्रभावित हुनेमा १ जना पुरुष रहेका छन् भने २ सय ६६ जना महिला रहेका छन् । जसमध्ये २ सय ४ जना विवाह महिलाहरु हिंसाबाट प्रभावित रहेका छन् । एकल तथा अविवाहित ५० जना महिला र एक जना पुरुष हिंसाबाट प्रभावित छन् ।
सिन्धुली अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार अलग बसेका ६ जना, विधवा महिला ६ जना हिंसाबाट प्रभावित भएका छन् । हिंसाबाट प्रभावित हुनेमा ४ वर्षका बालिकादेखि ५० वर्ष माथिसम्मका रहेका छन् । केन्द्रका मनोपरामर्शकर्ता सुनिता शर्माका अनुसार ९ वर्षसम्मका ८ जना, १० वर्षदेखि १९ वर्षसम्मका ३९ जना, २० वर्षदेखि ४९ वर्षसम्मका २०७ जना र ५० वर्ष माथिका १३ जना लैंगिक हिंसाबाट प्रभावित भएका छन् ।
ओसिएमसिले विहिबार सिन्धुलीमाढीमा गरेको बार्षिक समिक्षा कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै शर्माले बलत्कारबाट ११ महिनामा २६ जना महिला तथा बालबालिका प्रभावित भएका छन् । यौन दुव्र्यवहारबाट ४ जना, शारीरिक हिंसाबाट ७४ जना, श्रोत साधनबाट बञ्चित ४२ जना, भावनात्मक तथा मानसिक हिंसाबाट प्रभावित ११७ जना, बालविवाहबाट १ जना र अन्य हिंसाबाट ३ जना प्रभावित भएको जनाएकी छिन् ।
सबैभन्दा बढी कमलामाई नगरपालिकामा महिला तथा बालिका हिंसामा परेका छन् । कमलामाई नगरपालिकामा ९८ जना हिंसाबाट प्रभावित छन् । त्यस्तै दुधौली नगरपालिकामा २९ जना, फिक्कल गाउँपालिकामा २७ जना, मरिण गाउँपालिकामा २५ जना, तिनपाटन गाउँपालिकामा २१ जना, गोलञ्जोर गाउँपालिकामा १७ जना, हरिहरपुरगढी गाउँपालिकामा १३ जना र सुनकोशी गाउँपालिकामा ९ जना हिंसाबाट प्रभावित बनेको ओसिएमसीको तथ्यांक रहेको छ । यस्तै १७ जना जिल्ला बाहिरबाट हिंसा प्रभावित भएर आएका छन् ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा भएको समिक्षा बैठकमा ओसिएमसीले आउटरिच उपलब्धि समेत गरेको उल्लेख गरिएको छ । जसमा ५३० जनालाई मनोसामाजिक परामर्श, सचेतना तथा केश फलोअप समेत गरिएको उल्लेख छ । ओसिएमसीको तथ्यांक अनुसार हिंसा प्रभावित मध्ये ७९ जना पुनः घर फर्किएका छन् । २५ जना सुरक्षित आवासमा गएका छन् भने १०९ जनालाई प्रहरीतर्फ रिफर गरिएको छ । ४२ जना वकिल तर्फ पठाईएको छ । ६ जनालाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाईएको छ । २ जनालाई मानसिक रोग विशेषज्ञको सम्पर्कमा पठाईएको छ भने ४ जनालाई ओपिडीमा पठाईएको छ । यसैबीच सुरक्षित आवास गृह सिन्धुलीमा ७१ जनाले सेवा लिएको गृहका सञ्चालक गीता देवकोटाले बताएकी छिन् ।






















