सिन्धुली । अब प्रहरीलाई सूचना दिन क्युआर कोर्डको प्रयोग गर्न पाईने भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबारदेखि क्युआर स्क्यानिङ मार्फत सूचना तथा गुनासो लिन सुरु गरेको हो । प्रहरीलाई प्रविधिसँग जोड्दै प्रहरीले जुनसुकै सूचना तथा उजुरी दिन सकिने गरि क्युआर स्क्यानिङ सेवा सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले प्रहरीलाई सूचना तथा उजुरी क्युआर स्क्यान गरेर दिन सकिने बताएका छन ।
उनले इन्टरनेटको सुविधा भएका स्थानबाट प्रहरीको क्युआर कोर्ड स्क्यान गरि सूचना तथा उजुरी दिने व्यवस्था मिलाईएको बताए ।
काफ्लेले जस्तो सुकै सूचनाहरु पठाउन सकिने र सूचना दिने व्यक्तिको पहिचान नखुलाईने बताए । प्राप्त सूचनाहरु पनि गोप्य र सुरक्षित हुने उनले बताएका छन ।
कुनै पनि गैह्र कानुनी काम, अपराधिक गतिविधिहरु काहिँ कतै भईरहेको देखेमा, सुनेमा वा जानकारी प्राप्त भएमा क्युआर स्क्यान मार्फत सूचना दिन काफ्लेले नागरिकलाई अनुरोध समेत गरेका छन ।
क्युआर कोर्ड जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अफिसियल फेसबुक पेजमा राखिने बताए । उनले फेसवुक पेजमा भएको क्युआर स्क्यान गरि प्रहरीले दिने सेवा प्रवाह तथा अन्य विषयमा रचनात्मक सुझाव, सल्लाह दिन समेत एसपी काफ्लेले सिन्धुलीबासीलाई आग्रह गरेका छन ।
क्युआर मार्फत प्राप्त सूचना, राय सुझाव, उजुरीलाई गहन रुपमा लिएर कार्यान्वयनमा लाने उनले बताएका छन ।





















