सिन्धुली । फिक्कल गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको कामकाजको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाको आयोजनामा शनिबार खाङसाङमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा गाउँपालिकालाई सुझाव दिएका छन ।
विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्न माग गरेका छन । उनीहरुले संघका शिक्षक र अन्य शिक्षक कर्मचारीको तलब भुक्तानीमा भएको फरकलाई एकरुपता नल्याउँदा शिक्षक र विद्यालय कर्मचारीको मनोवल घट्दै गएको बताएका छन । यस्तै प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनमा गाउँपालिकाको योजनाको बारेमा समेत सार्वजनिक सुनुवाईमा प्रश्न गरिएको थियो ।
कार्यक्रममा उनीहरुले करारका कर्मचारी र गाउँपालिकाले नियुक्त गरेका शिक्षकहरुबीचमा समेत गाउँपालिकाले फरक व्यवहार गरेको गुनासो गरे । यस्तै गाउँपालिकाको भुभाग मध्यपहाडी राजमार्गमा रहेको र दुर्घटना बढी हुने गरेको भन्दै अस्पताललाई व्यवस्थित गर्न र अक्सिजन सिलिण्डर व्यवस्थित गरि राख्न सुझाव दिए । गाउँपालिकाले सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्थापन गर्न, तत्काल उपचारका लागि उपयुक्त स्वास्थ्य संस्था र अक्सिजनको व्यवस्थापनमा गाउँपालिकाले ध्यान दिनुपर्ने सुझाव दिएका छन । यस्तै चनौटेमा निर्माण सम्पन्न हुन थालेको आधारभूत अस्पताललाई तत्काल सुचारु गर्न समेत सुझाव दिएका छन ।
सार्वजनिक सुनुवाईमा प्रदेशबाट बन्दै गरेको प्रादेशिक सडक लुम्ति बाहुनतिल्पुङ डकाहा सडक स्टमेट अनुसार स्टक्चरको काम नभएकाले पालिकाले निगरानी गरि सम्बन्धित पक्षसँग समन्वय गर्न सुझाव समेत दिएका छन ।
यस्तै वडा नं. ५ मा बालमैत्री वडा निर्माणका लागि आवश्यक पूर्वाधार नभएको भन्दै त्यसका लागि भएका प्रयासबारेमा समेत प्रश्न गरिएको छ । कार्यक्रममा नागरिकहरुले फिक्कलका नागरिकहरुलाई बैंकिङ साक्षरता दिनुपर्ने, स्वास्थ्य शिक्षा खानेपानीमा लगानी बढाउनुपर्ने लगाएतका सुझावहरु दिएका थिए । कार्यक्रममा महिलाहरुको हित, संरक्षणका सवालमा समेत गाउँपालिकाको योजना बारेमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नागरिकहरुका गुनासा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले महिलाहरुको न्याय, संरक्षण, सहभागिता र आयआर्जनमा पालिकाले उल्लेख्य काम गरेको बताईन । उनले स्वास्थ्य, शिक्षा, स्वरोजगार, कृषि र पशुपालनमा गाउँपालिकाले उल्लेख्य काम गरेको बताईन । त्यस्तै संघ र प्रदेशको बजेटमा भएका कामको निगरानी, अनुगमन र समन्वयमा पालिकाले काम गरिरहेको र गर्ने बताईन । उनले स्वास्थ्य व्यवस्थापनमा पालिकाले काम गरिरहेको र अपर्याप्त भएका कामलाई गर्दै जाने बताईन । उनले वित्तिय साक्षरता, प्राविधिक शिक्षामा लगानी गर्ने काम गरिने बताईन ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राजु बरालले मापदण्ड सहितको एम्बुलेन्स सञ्चालन गरिने, प्राविधिक शिक्षामा गाउँपालिकाले प्रतिफल हेरेर लगानी गर्ने बताए । उनले जनताको काम गर्न आएको बताउँदै सबैको सल्लाह र परामर्शमा पालिकाले विकासका काम अगाडि बढाउने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले पालिकाले गरेका वित्तिय प्रगति तथा अन्य प्रगति विवरण जानकारी गराएका थिए । उनका अनुसार पालिकाले हालसम्म चालु तर्फ ५४ दशमलब ७५ प्रतिशत र पूँजीगत तर्फ ३२ दशमलब ४७ प्रतिशत रकम खर्च भएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार बिमला पाण्डेले गरेकी थिईन ।