सिन्धुली । प्रहरीले सोमबार मरिणबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राती प्रहरीले मरिण गाउँपालिका वडा नं. ६ का २७ वर्षिय सुमन लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मरिण ६ तेल्नीका डिल बहादुर मोक्तान काभ्रेको तिमालमा रहेको ससुरालीबाट घर फर्कने क्रममा सालुभञ्ज्याङमा आईपुग्दा बन्दुकको पासोमा परि घाईते भएपछि बन्दुक राखेको प्रहरीले जानकारी पाएको थियो ।
बन्दुकले लागेर मोक्तानको गोलीगाँठोमा चोट लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार गराएको थाहा पाएपछि प्रहरीले बन्दुक र बन्दुक पासो थाप्ने व्यक्तिको खोजी गरेको थियो ।
प्रहरीले घटनास्थलबाट बन्दुक सहित लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरञ्जीवि दाहालले बताए । उनका अनुसार घाईते भएका मोक्तानको धुलिखेलमा उपचार भईरहेको छ । लामालाई सिन्धुली जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप गरि हातहतियार सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिएको दाहालले बताए ।




















