सिन्धुली । बाग्मति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जर्वुट्टा कलाको संरक्षणको दायित्व राज्यको रहेको बताएका छन । उनले कला, संस्कृतिको जगेर्ना गर्ने र इतिहास जीवित राख्ने काम राज्यको दायित्व भित्र पर्ने बताए ।
शनिबार संग्रहालय परिषरमा भएको जर्वुट्टा कला केन्द्रको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले जर्वुट्टा कलामा उत्तराधिकारी समेत जन्माउन समस्या रहेको बताए । सो अवसरमा उनले कलाको उचित संरक्षणमा आफुले सक्दो भूमिका खेल्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री श्रेष्ठले बजेट विनियोजनदेखि कला संग्रहालय निर्माणका लागि वहुवर्षिय योजनामा राखेर विकास गर्न आफ्नो पहल रहने बताएका हुन । बनेको भवन संग्रहालयका लागि उपयुक्त नभएको बताउँदै श्रेष्ठले त्यो भवनको संरक्षण सहित व्यवस्थित भवन बनाउनुपर्नेमा जोड दिए । विश्वम्भर लामिछानेद्वारा निर्मित जर्वुट्टा कला अमुल्य रहेको बताउँदै कलालाई राज्यले संरक्षण गर्न आवश्यक रहेको बताए ।
केन्द्रका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बागमति प्रदेशसभाका पूर्व सदस्य विनोदकुमार खड्काले कलाको विकास संरक्षणमा सक्दो भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग बहादुर खत्रीले जर्वुट्टा कलाको संरक्षणमा सकेको सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै कलाकार विश्वम्भर लामिछानेले कलाको संरक्षणको गर्ने काम आफुबाट मात्र सम्भव नभएकाले संस्था र सरकारले जिम्मा लिनुपर्ने बताए ।
कार्यक्रममा जर्वुट्टा कला संग्रहालयको बारेमा स्नातकोत्तरको आंशिक शोधपत्र तयार गर्ने भानुभक्त श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रममा कला केन्द्रको सदस्यता लिने व्यक्तिहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको छ । यस्तै साधारणसभामा आर्थिक तथा प्रगति प्रतिवेदन समेत पास गरिएको छ ।
कार्यक्रममा १३ महिनाको अवधिमा २ हजार २९७ जनाले कलाकेन्द्रको अवलोकन गरेको जानकारी दिएको छ । नेपालका ४६ जिल्लाका नागरिक र ८ मुलुकका विदेशी नागरिकहरुले अवलोकन गरेको साधारणसभाको अवसरमा सचिव नारायण लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।





















