सिन्धुली । मोती तथा विपी जयन्तीको अवसर पारेर केशव कुमार फुयाँल (साइला वाजे) का चार वटा साहित्यीक कृती एकै पटक विमोचन गरिएको छ । १५८ औं मोती जयन्ती तथा ११० औं विपी जयन्तीको अवसर पारेर चार कृतिको विमोचन गरिएको हो ।
उमानाथ शास्त्री सिन्धुलीय साहित्यीक प्रतिष्ठानले कनपा ५ मिलनचौकमा प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा उक्त पुस्तकहरु विमोचन गरिएको हो ।
यसरी विमोचन गरिएका पुस्तकमा सशस्त्र द्वन्द्व र राजनीतिक अस्थित्वको संघर्ष, घाँसीका ज्वारभाटा, प्रथम र द्वितिय खण्ड, संक्षिप्त नेपाली राजनीतिक महाभारत कविता संग्रह रहेका छन् । पुस्तकामा छन्द र लयमा कविताहरु समावेश गरिएको छ ।
फुयाँलले यी बाहेक, बुवा शोक काव्य, फूयाँल वंश दर्पण, जस्ता पुस्तक यस अघि नै प्रकाशनमा ल्याई सकेका छन । यी बाहेक उनले गजल, मुक्तक, लोकगीत, भजन, हाईकु तथा अन्य फुटकर कविता प्रकाशन गरेका छन् ।
उमानाथ शास्त्री साहित्यीक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष महेश्वस प्रसाद कोइरालाको अध्यक्षता तथा नेपाल शिक्षक युनियनका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृति बारेमा साहित्यकार प्रशिद्धा शर्माले कृतिको समिक्षा गरेकी थिईन ।
उक्त कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष फाल्गुणी शर्मा, कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग वहादुर खत्री, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा साहित्यकार द्वारिका काफ्ले, सिन्धुली साहित्यीक प्रतिष्ठानका अध्यक्ष पवन पाख्रिन, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठ, प्राचिन सिन्धुली पुस्तकका लेखक, गोविन्द गोदार थापा, लगायतले रचना सहितको मन्तव्य व्यक्त गरेका थिए ।
मोती जयन्ती तथा कार्यक्रमको औचित्यबारे प्रतिष्ठानका पूर्व अध्यक्ष प्रज्ज्वल सिन्धुलीय भाईदाजुले प्रष्ट पारेका थिए भने समितिका खडानन्द तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए । समितिका सचिव केदार प्रसाद देवकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।





















