सिन्धुली । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले लडाकु शिविरमा भएको अनियमितताको फाइल खोल्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल (प्रचण्ड) तयार रहेको बताएका छन ।
उनले दोषी प्रमाणित भए प्रधानमन्त्री दाहाल जेल जान तयार रहेको बताएका छन । प्रेस सेन्टर नेपाल सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । उनले भने, ‘क्यान्टोनमेन्टका फाइल खोलौं, दोषी प्रमाणित भए प्रचण्ड जेल जान तयार हुनुहुन्छ ।’
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका सबै फाईल खोल्ने उनले बताए । उनले यति, ओम्नी, गौरहत्या काण्ड, वाईडवडी, एकसय किलो सुन प्रकरण, ललिता निवास प्रकरण, ३३ किलो सुन प्रकरण, ग्रिबन्धु टि स्टेट लगाएतका पेण्डिङमा रहेका भ्रष्टाचारका सबै फाईलहरु क्रमशः खुल्ने बताए ।
उनले अपराधमा संलग्न जुनसुकै दलका नेता भए पनि नछोडिने बताए । अपराधलाई राजनीतिक विषय नबनाईने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सुन काण्डमा अनुसन्धानको दायरामा तानिएका माओवादी नेता कृष्ण बहादुर महरा र उनका छोरालाई प्रयाप्त प्रमाण नभेटेकाले सिआईविले अनुसन्धानमा नतानेको भन्दै बचाउ गरे ।
दाहालले सत्तापक्ष नेताहरु माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई तानिन्छन की भनेर हिसाब नगरिने दावी समेत गरे । उनले प्रचण्ड नेतृत्वको सरकारले सरकार रहन्छ की ढल्छ भनेर भ्रष्टाचारका विषयमा हिसाव नगर्ने दावी गरे ।
एकसय किलो सुनकाण्डको जिम्मेवारी सरकारले लिने उनले बताएका छन । ‘सुनकाण्डको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ । अर्थमन्त्री र गृहमन्त्री संलग्न भए जेल जान्छन,’ दाहालले पत्रकार सम्मेलनमा भने । उनले सुनकाण्डमा गृहमन्त्रीको मात्र राजिनामा माग्नु पूर्वाग्रह रहेको र यसमा अर्थमन्त्रालय बढी जिम्मेवार रहेको बताए ।





















