सिन्धुली । जिल्लामा यो वर्षकै सबैभन्दा ठूला वर्षा भयो । वर्षाले जिल्लाका साना ठूला नदीहरुमा वर्षकै उच्च तहमा बाढी आए । जिल्लाका सबैभन्दा बढी कटान, डुवान र क्षती गर्ने नदीहरुमा उच्च वहावमा बाढी आयो ।
जिल्लाको कमला नदीले खतराको विन्दु पार ग¥यो । उक्त नदीमा तिन मिटर ३० सेन्टिमिटर वहाव रह्यो । कमला नदीको खतराको विन्दु तीन मिटर हो । यस्तै मरिण, बाग्मति, चँदाहा नदी, सुनकोशी र अन्य साना नदीहरुमा उच्च वहाव रह्यो ।
जलमापन केन्द्रले कमला नदी लगाएतका आसपासका नदी छेउँमा सतर्क रहन सूचना समेत जारी ग¥यो । कमलानदीको किनारमा रहेका कमलामाई नगरपालिकाको ८, ९, १०, १३ र १४ नम्बर वडा र दुधौली नगरपालिकाका निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, लदाभीर, दुधौली कर्था, लगाएतका डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन र नदी छेउँछाउ नजान जल मापन केन्द्रले सूचना जारी ग¥यो ।
जलमापन केन्द्र सिन्धुलीले वितेको २४ घण्टामा सिन्धुलीमाढीमा १८० दशमलब ५ मिलिलिटर र सिन्धुलीगढीमा १६० दशमलब १ मिलिलिटर पानी परेको मापन गरेको जनाएको छ । यस्तै मरिणमा २५८ दशमलब ६ मिलिलिटर पानी परेको मापन गरेको जनाएको छ ।
सोमबार रातीदेखि लगातार परेको पानीका कारण जिल्लाका ग्रामिण सडकहरु अवरुद्ध भएका छन । विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग अवरुद्ध भए पनि सुचारु गरिएको छ । ठाउँ ठाउँमा पहिरो खसेका कारण आवत जावतमा समेत समस्या भएको छ ।
पाँच घरमा क्षती
लगातारको वर्षातका कारण कमलामाई नगरपालिका र मरिण गाउँपालिकाका पाँच घरमा पहिरोले क्षती पुराएको छ । मरिण गाउँपालिका वडा नं. २ का तीन घरमा पहिरोले क्षती पुराएको छ भने कमलामाई नगरपालिकाको वडा नं. १० मा एक घर र कमलामाई नगरपालिका वडा नं. १ मझीनीदमारमा एक घरमा क्षती पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लामा मानवीय क्षती भने भएको छैन । नदी खोला नाला अत्यधिक बढेको हुदा र वर्षा जारी रहेकाले सचेत रहन जिल्लाबासीलाई नेपालले आग्रह गरेकी छिन । वर्षा, बाढी र पहिरोले पुराएको क्षतीको विवरण संकलन भईरहेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताएका छन ।





















