सिन्धुली । सिन्धुलीको एक सरकारी विद्यालयले १३ वर्षदेखि छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको छ । सरकारले २०७७ देखि सरकारी विद्यालयलाई निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरे पनि घ्याङलेख गाउँपालिकाको मावि हायुटारले भने विद्यालयको लगानीमा १३ वर्ष अघि देखि नै सेनेटरी प्याड निःशुल्क गरेको थियो ।
‘जतिवेला विद्यालयमा सेनिटरी प्याड निःशुल्क गरिएको थियो, त्यो वेला महिनावारीबारे छात्राहरुले भन्नै सक्दैन थिए’ विद्यालयका प्रधानाध्यापक विजयकुमार थिङ भन्छन, ‘हामीले छात्राहरुलाई महिनावारी लाजको विषय नभएको भनि सचेतनासँगै विद्यालयको पहलमा छात्राहरुलाई महिनावारीको बेलामा प्रयोग गर्ने प्याड निःशुल्क दिन सुरु ग¥यौं ।’ प्रधानाध्यापक थिङको अभियानमा विद्यालयमा पढाउने शिक्षक, कर्मचारीको समेत साथ सहयोग रह्यो ।
छात्राहरुको ड्रप आउट (विद्यालय छोड्ने दर) रोक्न र छात्राहरुलाई पढाईमा सहजता दिलाउन सेनेटरी प्याड निःशुल्क गरिएको थिङले बताए । जनजाती बाहुल्यता रहेको यो विद्यालयमा विद्यार्थीलाई टिकाउनै गाह्रो थियो । छात्राहरु त झनै पढ्नै मान्ने अवस्था थिएन । महिनावारीका बेला विद्यालयमा अनुपस्थित हुन्थे ।
आजभोली विद्यालयका छात्राहरु महिनावारी भएको बेला सिधै विद्यालयका शिक्षकहरुसँग प्याड माग्छन । पछिल्लो समय गाउँपालिकाले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराएको छ । सरकारकै नीति भएकाले प्याड आएको छ तर त्यस अघिका १० वर्ष विद्यालयले नै व्यवस्थापन ग¥यो ।
यो विद्यालयमा महिनावारी उमेरका अर्थात ६ कक्षा देखि १२ कक्षा सम्मका १३७ जना छात्राहरु छन । विद्यालयका शिक्षक कर्मचारी महिलाहरु ८ जना छन । उनीहरु सबैले निःशुल्क सेनिटरी प्याड पाउँछन । त्यो भन्दा तल्लो कक्षाका महिनावारी भएका छात्रा छन भने पनि विद्यालयले सेनिटरी प्याड दिन्छ ।
हरेक वर्ष विद्यालयले गाउँपालिकाबाट २० बोरा अर्थात २ हजार ४ सय ३० प्याकेट सेनिटरी प्याड ल्याउँछ । पहिले पहिले विद्यालयका शिक्षकमार्फत वितरण हुने सेनिटरी प्याड पछिल्लो समय विद्यालय नर्स मार्फत वितरणको व्यवस्था मिलाएको छ ।
विद्यालय नर्स लक्ष्मी कुमारी विश्वकर्माका अनुसार दैनिक १०, १२ जनासम्म छात्राहरु प्याड लिन उनी समक्ष आउँछन । एक पटकको महिनावारी समयमा २ प्याकेट प्याड दिने गरेको छ विद्यालयले । विश्वकर्मा भन्छिन, ‘लाईन लागेर प्याड लान्छन, महिनावारी भएँ भन्न लाज मान्दैनन ।’
विद्यालयले पछिल्लो समय छात्रामैत्री शौचालय निर्माण गरेको छ । प्याड फेर्न, प्रयोग भएका प्याड फाल्न र जलाउन मिल्ने गरि व्यवस्थापन गरेको छ । पानीको प्रसस्त सुविधा छ ।
महिनावारीका बेला विरामी परेमा पनि उनीहरुलाई आराम गराउने र औषधि गर्ने व्यवस्था विद्यालयमा छ । पछिल्लो समयको विवरण हेर्दा करीव साढे चारसय विद्यार्थी रहेको यो विद्यालयमा ड्रप आउट २ प्रतिशत भन्दा तल देखिन्छ त्यसमा पनि छात्राको ड्रपआउट एकदमै कम रहेको विद्यालयले जनाएको छ ।























