सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले लक्ष्य भन्दा बढी प्रगति गरेको आयोजनाले जनाएको छ । आयोजनाले सुरुङ खन्ने काम सुरु गर्दासम्म भौतिक प्रगतिको लक्ष्य ८ दशमलब ६८ प्रतिशत रहेकोमा ८ दशमलब ८० प्रतिशत पुरा गरेको र आर्थिक प्रगति ८ दशमलब ३३ प्रतिशत रहेकोमा ८ दशमलब ४२ प्रतिशत लक्ष्य प्राप्त भएको आयोजनाले जनाएको छ । बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै आयोजनाले हालसम्म गरेका कामको बारेमा जानकारी दिएको हो ।
आयोजनाका निर्देशक मित्र बरालले पत्रकार सम्मेलन गर्दै बुधबारसम्म आयोजनाको मुख्य काम मध्येको सुरुङ खन्ने काम असोज २८ गतेबाट सुरु भएको र २० मिटर खनि सकिएको जानकारी दिएका छन ।उनले आयोजनाको पहिलो चरणको काम मुआब्जा दिने काम, सुरुङ खन्न सुरु गर्ने क्षेत्रको रुख कटानको काम, वातावरणीय प्रभाव मुल्यांकनको काम सकेर सुरुङ खन्ने काम सुरु गर्न आयोजना सफल भएको बताए ।
बरालले आयोजनाले रुपान्तकारी आयोजनाका रुपमा स्वीकृती पाएको, राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृती पाएको पनि जानकारी दिएका छन । तराईमा यो आयोजनाले सिंचाई दिने क्षेत्रमा अढाई देखि ३ गुणा उत्पादन दिनेमा आयोजना विश्वस्त रहेको समेत आयोजना प्रमुख बरालले जानकारी दिएका छन ।
१ लाख २२ हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पु¥याउन सकेमा कृषिबाट बार्षिक २६ अर्व रुपैंया आम्दानी हुने आयोजनाको आंकलन छ । आयोजनाले अब सुनकोशीमा बाँध निर्माण गर्ने, कुसुमटारमा विद्युत गृह निर्माण गर्ने र हाईड्रो मेकानिकल संरचनाहरुको निर्माण कार्य समेत सुरु गरिसकेको जनाएको छ । यस्तै टेक्निकल ल्याव, सुरक्षा संरचनाको व्यवस्था लगाएतका काम समेत सकिएका छन ।
यस्तै आयोजनाको बाँध स्थलमा डुवानमा पर्ने विपी राजमार्गको ९६५ मिटर सडक र अन्य संरचनाले ओगट्ने सडकलाई नियमित सञ्चालन गर्न सडकको डाईभर्सन बनाउने काम समेत तत्काल सुरु हुने आयोजनाले जनाएको छ । कुसुमटारमा आयोजना स्थलमा पर्ने मदनभण्डारी राजमार्गको ट्रयाक परिवर्तन गरेको पनि आयोजनाले जनाएको छ । ट्रयाकको निर्माणको काम भईरहेको छ । बाँधस्थलको डुवानमा पर्ने क्षेत्रको मुआब्जाको लागि मुल्यांकन सकि मुआब्जा वितरणको कार्य भईरहेको बरालले जानकारी दिए ।
सुनकोशीको पानी १३.३ किलोमिटर सुरुङबाट ६७ हजार लिटर प्रतिसेकेन्ड पानी मरिणमा झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने, तराईका बारा, रौतहट, सर्लाहि महोत्तरी र धनुषाको केहि भाग गरि १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य सहित यो आयोजना सुरु भएको हो ।
यो आयोजना आर्थिक वर्ष २०७७÷७८ मा सुरु भई २०८४÷८५ मा सम्पन्न गर्ने लक्ष्य छ । सरकारले वैदेशिक सहायता विना आफ्नै लगानीमा यो योजना सुरु गरेको हो ।




















