सिन्धुली । कमलामाई नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको कालिका सामुदायीक वन क्षेत्रको ल्याण्डफिल्ड साईडको गेटमा स्थानीयले ताला लगाएका छन । कमलामाई नगरपालिका वडा नं. ५ को कालिका वन क्षेत्रको क्वान्द्रेखोलामा भएको ल्याण्डफिल्ड साईडको फोहोरका कारण आसपासका वस्तीमा प्रत्यक्ष असर परेको भन्दै स्थानीयहरुले चरणवद्ध आन्दोलन सुरु गरेका हुन । उनीहरुले सोहि अनुरुप सोमबार ल्याण्डफिल्ड साईडको गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन ।
यो सँगै बजार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या हुने भएको छ । क्वान्द्रे खोल्सी आसपासका ८ वटा बस्तीलाई यसले प्रत्यक्ष प्रभाव पारेको ल्याण्डफिल्ड साईड प्रभावितहरुको संयुक्त संघर्ष समितिका संयोजक यज्ञ बहादुर थापाले बताएका छन ।
उनका अनुसार वस्ती खोल्सीको पुछारमा फोहोर व्यवस्थापन गर्ने भनि नगरपालिकाले कालिका वन उपभोक्ता समूहसँग सहमति गरेको भए पनि खोल्सीको शिरमा वस्ती नजिक फोहोर व्यवस्थापन गरेको, १५ वर्षका लागि लिएको जमिनको समयावधि सकिएको र उचित फोहोर व्यवस्थापन नहुदा वस्तीहरुमा समेत दुर्गन्ध फैलिएको भन्दै ल्याण्डफिल्ड साईड हटाउन नगरपालिकासँग माग गरेका छन ।
स्थानीयले कार्तिक २२ गते कमलामाई नगरपालिकालाई १५ बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए । नगरपालिकाले मागको वेवास्ता गरेपछि ताला लगाउनु परेको ल्याण्डफिल्ड साईड प्रभावितहरुको संयुक्त संघर्ष समितिले जनाएको छ ।
सामुदायिक वन क्षेत्रको ठूलो क्षेत्रफल ल्याण्डफिल्डका नाममा विना सहमति फँडानी गरिएकाले त्यसको क्षतिपूर्ति नगरपालिकाले तिर्नुपर्ने उनीहरुको माग रहेको छ । यस्तै ल्याण्डफिल्ड क्षेत्रमा जाने सडकको दायाँ बायाँ तथा जंगलमा जथाभावी फोहोर फालिएकाले खानेपानी, वन्यजन्तु, वनस्पती र बस्तीमा असर पुगेको संघर्ष समितिले जनाएको छ ।
उनीहरुले ल्याण्डफिल्ड प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्य बिमा गर्नुपर्ने, खानेपानी, स्वास्थ्य शिक्षा र रोजगारको अवसर सिर्जना गर्नुपर्ने, प्रभावित क्षेत्रका नागरिकलाई स्वरोजगार बनाउन उद्यमशिलता तालिम र सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने, प्रभावित क्षेत्रका नागरिकसँग लिदै आएको सरसफाई कर छुट गर्नुपर्ने, प्रभावित क्षेत्रका सडकको नाला र स्तरोन्नती गर्नुपर्ने, सरसफाई करबाट उठेको पचास प्रतिशत रकम प्रभावित क्षेत्रको विकासमा खर्च गर्नुपर्ने लगाएतका मागहरु रहेका छन ।
उनीहरुले फोहोरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीहरुको समेत विमा गरिदिन नगरपालिकासँग माग गरेका छन ।
ल्याण्डफिल्ड साईडका कारण नयाँवस्ती, मधुटार, रानीखोला, जरायोटार, ढाक्रेबास, कारागार, कालिकाटार, पञ्चकन्या टोल, सिलामे लगाएतका टोलहरु प्रत्यक्ष प्रभावित बनेको संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिमा कमलामाई नगरपालिका वडा नं.५ का कालिका सामुदायिक वन, कमला सामुदायीक वन, वडा स्तरीय टोल विकास समन्वय समिति, वातावरण संरक्षण समिति, पञ्चदेवी टोल विकास संस्था, कमला टोल विकास संस्था, तल्लो रानीखोला टोल विकास संस्था, संगमचोक टोल विकास संस्था, नमुना देउराली वातावरण तथा समृद्ध टोल विकास संस्था, दक्षिणकालि बहुृउद्देश्यीय टोल विकास संस्था, चन्द्रमुखी टोल विकास संस्था, सिर्जना नगर टोल विकास संस्था लगाएत रहेका छन ।




















