सिन्धुली/सरकारले गरेको इन्धन र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्धमा नेकपा एमाले निकट युवा र विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुली र अनेरास्ववियु सिन्धुलीले इन्धन र पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा विहिबार सिन्धुलीमाढीमा पुत्ला दहन गरेका हुन् ।
कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा युवा र विद्यार्थीहरु भेला भएर प्रधानमन्त्रि देउवाको पुत्ला दहन गर्दै मुल्य वृद्धि तुरुन्त बृद्धि फिर्ता गर्न माग गरेका छन । टाउकोमा कालो पट्टी बाँधेर युवा विद्यार्थीले मापसे सरकार मुर्दाबाद, कालोबजारी नियन्त्रण गर जस्ता नारा लगाएका थिए ।
सरकारले निरन्तर इन्धन र पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्दै आएको र मुल्य बृद्धि फिर्ता नगरेसम्म सशक्त आन्दोलन गर्ने युवा संघका जिल्ला अध्यक्ष देवराज वाइवाले बताए । युवा विद्यार्थीले केहि समय विपी राजमार्ग समेत अवरुद्ध गरेका थिए । पुत्ला दहनपछि युवा र विद्यार्थीले विपी राजमार्गको सरसफाई समेत गरेका थिए ।
यसैबीच विहिबार दिउँसो युवा विद्यार्थीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन । युवासंघका अध्यक्ष देवराज वाईवा र अनेरास्ववियुका अध्यक्ष कृष्ण मोक्तानले संयुक्त रुपमा मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।




















