सिन्धुली । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले आफ्नो जन्मदिन कोभिड १९ अस्पतालमा मनाएका छन । उनले अस्पताल मातहतमा रहेको कोभिड १९ युनिटमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी तथा कोभिडका विरामीलाई आफ्नो जीवन जोखिममा राखि सेवा गर्ने परिवारलाई समेत सम्मान गरि जन्मदिन मनाएका छन ।
कोभिड १९ नियन्त्रण तथा उपचारमा उत्कृष्ट काम गरेका डा. सागर देवकोटा, कोभिड १९ अस्पतालका इन्चार्ज अमृत कार्की, मेडिकल रेकर्डर शैलेश यादव, एम्बुलेन्स चालक एकलाल श्रेष्ठ र इन्द्र लो लाई सम्मान गरेका हुन ।
यस्तै पोखरेलले कोभिडका शव व्यवस्थापनमा उल्लेख्य योगदान दिएको भन्दै शववाहन चालक पदम थापालाई सम्मान गरेका छन भने कोभिड १९ का विरामीलाई समाज परिवारले घृणा गर्ने र स्याहार नगर्ने अवस्थामा परिवारका सदस्यको उचित स्याहार गरेको भन्दै ४ जना नागरिकलाई समेत सम्मान गरेका छन ।
यसरी सम्मानित हुनेमा एक सय वर्षिय आमाको कोभिड संक्रमित भई कोभिड १९ अस्पतालमा उपचार गराउँदा उत्कृष्ट स्याहार गरेको भन्दै कमलामाई नपा ६ की निर्मला बस्नेतलाई सम्मान गरिएको छ ।
यस्तै पोखरेलले ८१ वर्षकी आमाको स्याहार गरेको भन्दै कर्ण बहादुर खड्का, सासुको स्याहारमा खटिएको भन्दै सारदा थापा र दिदीको स्याहारमा अहोरात्र खटिएको भन्दै बिमला नेपालीलाई सम्मान गरेका हुन ।
उनीहरुले परिवारका सदस्यहरुलाई उचित माया र सम्मानका साथ उपचारमा स्वास्थ्यकर्मीलाई समेत सहयोग गरेका थिए । ५५ औं जन्मदिनका अवसरमा उनले कोभिड अस्पतालमै जन्मदिन मनाउँदै सम्मानित हुने व्यक्तिहरुलाई सम्मानपत्र, खादा, अविर र एकजोर लुगा सहित सम्मान गरेका हुन ।
काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोवल उच्च बनाउन तथा कोभिड १९ का विरामीको स्याहारमा समाजकै लागि उदाहरणीय बनेका व्यक्तिलाई सम्मान गरि सकरात्मक सन्देश दिन सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पोखरेलले बताएका छन ।
उक्त कार्यक्रममा सहभागि भएर नेकपा एमालेका जिल्ला अध्यक्ष तथा वाग्मति प्रदेश सदस्य प्रदीप कटुवालले जिल्लाको कोभिड अस्पताल देशकै नमुना अस्पताल भएको र यहाँका स्वास्थ्यकर्मी र कर्मचारीले न्युन सेवामा काम गरिरहेको बताए । उनले सबै राजनीतिक दल, सरकारी निकाय, गैह्रसरकारी निकाय, नागरिक समाजको संयुक्त प्रयासले जिल्लामा कोभिड नियन्त्रणमा नमुना काम गरिएको समेत बताए ।




















