सिन्धुली । सिन्धुलीको ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीमाढीमा रहेको ट्राफिक चेक पोष्टमा रहेका प्रहरीलाई गाडी चेकजाँचका क्रममा घुस दिएर गाडी छुटाउन खोज्ने चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आइतबार प्रहरीले हेटौडाबाट रामेछाप तर्फ जाँदै गरेको ना६ख३०२२ नम्बरको ट्रकका चालक नवलपरासीको वर्दघाट नगरपालिका वडा नं. १६ का ३६ वर्षिय सुरेश कुमार वि.कलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वि.कले ट्रक मापदण्ड विपरित आएकाले छोडिदिन आग्रह गर्दै रुट पर्मिट बुकभित्र १ हजार रुपैंया हाली ड्युटिमा खटिएका ट्राफिक प्रहरी चन्द्रजीत शाहलाई आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी मनोज कुमार लामाले बताएका छन ।
उनका अनुसार गाडी र गाडी चालकलाई कारवाहिका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।





















