सिन्धुली । नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा सिन्धुलीका विभिन्न योजनाहरु समेटिएका छन । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना मानिएको उक्त आयोजनाका लागि टनेल निर्माण कार्य सुरु गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले वजेट वक्तव्य मार्फत जनाएका छन ।
बजेटमा कमला नदी नियन्त्रण, विपी राजमार्ग सुधार तथा स्तरोन्नती, मदनभण्डारी राजमार्ग निर्माणका लागि समेत बजेट विनियोजन गरिएको छ ।
यस्तै खुर्कोट चियावारी सुरुङ मार्गको विस्तृत अध्ययन गरि आगामी वर्षबाट निर्माण कार्य सुरु गर्ने गरि सरकारले बजेट विनियोजन गरेको छ ।
सिन्धुली हुदै जाने पुष्पलाल राजमार्गको बाँकी काम तीन वर्षमा पुरा गर्ने गरि सरकारले बजेट विनियोजन गरेको छ । जसका लागि सरकारले लक्ष लिएको छ । जसका लागि ८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ ।
नेपाल एकीकरणसँग जोडिएका सिन्धुलीगढी लगाएतका किल्ला र बाटोको संरक्षण गर्दै देशभरका सांस्कृतिक ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवम् पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरकारले बजेट विनियोजन गरेको छ । यस्तै सुनकोशीमा जलमार्ग निर्माणका लागि समेत सरकारले बजेट विनियोजन गरेको छ ।




















