सिन्धुली । जिल्लामा शुक्रबार २ जना पुरुषको कोभिड १९ का कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार कमलामाई नगरपालिका ३ का ७८ वर्षका पुरुष र कमलामाई नगरपालिका ४ का ५७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै दोस्रो भेरियन्टका कारण जिल्लामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यसरी मृत्यु हुनेमा कमलामाई नगरपालिकाका ७ जना, दुधौली २, मरिण २, तिनपाटन १ जना रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार ७३ जना नयाँ संक्रमित थपिएका छन । १२५ जनाको पिसिआर परिक्षण गरिएकोमा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोभिड १९ फोकल पर्सन सन्तोष कुमार माझीले बताए ।
उनका अनुसार जिल्लामा संक्रमित हुनेको संख्या ९ सय ९३ पुगेको छ । एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ६ जना र पिसिआर विधिबाट गरिएको परिक्षणमा ८ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै जिल्लामा हालसम्म ११५ जनाले कोरोना जितेका छन भने ७७१ जना उपचाररत रहेका छन । परिक्षण गरिएका ५० प्रतिशतमा कोरोना संक्रमण देखिएको पाईएको छ । २ हजार ३४ जनाको परिक्षण गरिएको रिपोर्ट आएकोमा ८ सय ९३ जनामा कोरोना पोजेटिभ र ८ सय ९२ जनाको नेगेटिभ रिपोर्ट आएको कार्यालयले दैनिक प्रतिवेदनमा जनाएको छ । २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
जिल्लाका स्थानीय तहहरुमा सबैभन्दा बढी कोरोना संक्रमित कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा देखिएको छ । कमलामाई नगरपालिकामा २९० जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १८ जनाको अवस्था गम्भिर भएर कोभिड १९ अस्पताल सिन्धुलीमा उपचारत छन भने १७ जना डिस्चार्ज भएका छन । यस्तै दुधौली नगरपालिकामा २ सय ३४ जनामा संक्रमण देखिएकोमा ७४ जनाले कोभिड जितेका छन भने ७ जना सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन ।
मरिणमा १२६, सुनकोशीमा ९६, तिनपाटनमा ५८, फिक्कलमा ३३, गोलञ्जोरमा २३, घ्याङलेखमा २४ र हरिहरपुरगढीमा ९ जना संक्रमित रहेका छन । ति मध्ये फिक्कलमा १३, सुनकोशीमा ९ र मरिणमा २ जनाले कोभिड जितेका छन । फिक्कलमा १ र तिनपाटनमा १ जना संस्थागत आइसोलेसनमा रहेका छन ।




















