सिन्धुली । सिन्धुलीको कोभिड अस्पतालमा पछिल्लो समय कोभिडका विरामीको चाप बढेको छ । अस्पताल सञ्चालन गर्न निश्चित जनशक्ति छ । त्यो जनशक्तिले विरामीको उपचारमा खटिँदा खान र सुत्न समेत पाउन छोडेका छन । तीन वटा भेन्टिलेटर, एक बच्चाको आईसियु, २५ वेड एचडियु सहितको सुविधा दिन सक्ने गरि बनाईएको पचास वेडको यो अस्पतालमा २ जना डाक्टर, एकजना रेडियोग्राफर, एकजना नर्सिङ इन्चार्ज, १३ जना स्टाफ नर्स र ३ जना अनमीले चलाईरहेका छन ।
कोभिड १९ का विरामीका लागि सबै सुविधा सुचारु गर्न ३० जना बढी स्वास्थ्यकर्मीको आवश्यकता रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार उक्त अस्पतालका लागि ३० जना स्टाफ नर्सको आवश्यकता पर्दछ । १४ जना कार्यालय सहयोगी, वायोटेक्निसियन १ जना, इन्टरनल मेडिसिन १ जना, १ जना एमडिजिपी आवश्यक छ तर अस्पताले उक्त स्टाफको जोहो गर्न सकेको छैन ।
सिन्धुली अस्पतालको मातहतमा चलेको यो अस्पताललाई कर्मचारी तथा स्वास्थ्यकर्मी एकवर्षसम्मका लागि नियुक्त गर्ने अधिकार बाग्मति प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको छ । अस्पतालले आवेदन पनि खोल्यो तर आवेदन दिन कोहि आएनन । जसका कारण अस्पतालमा जनशक्ति अभाव भएको छ ।
बाग्मति प्रदेशका १० जिल्लामध्येको व्यवस्थित भनिएको यो अस्पतालले सिन्धुली बाहेक तराईका महोत्तरी, सर्हाहि रौतहट, बाराका विरामीको समेत व्यवस्थित उपचार गरिरहेको छ तर जनशक्तिको अभावले स्वास्थ्यकर्मी र कर्मचारीलाई भने सास्ती भएको छ । कोभिड अस्पतालका इन्चार्ज अमृत कार्की भन्छन, ‘कति बेला के पर्छ थाहा हुन्न, खाने र सुत्नेको ठेगान छैन ।’ ‘स्वास्थ्यकर्मी र कर्मचारी पर्याप्त नहुदा रातदिन नभनी काम गरेका छौं । हाम्रो कुरा कसले सुन्ने ?’
यता अस्पताल व्यवस्थापन समितिले कर्मचारी खोज्न व्यक्तिगत सम्पर्क, सामाजिक सञ्जालमा आह्वान, पत्रपत्रिकामा विज्ञापन लगाएतका सबै प्रक्रिया अवलम्बन गरिसकेको छ । तर आवेदन दिन कोहि कसैले नमान्ने गरेको अध्यक्ष प्रलाद पोखरेलले बताए । उनी भन्छन्, ‘पहिले पहिले जागिर लाईदे भन्नेको लाईन हुन्थ्यो अहिले व्यक्तिगत रुपमा अनुरोध गर्दा समेत जागिर खान कोहि आउँदैन । अस्पताल कसरी धान्ने ? गाह्रो भयो ।’
सरकारले स्वास्थ्यकर्मी पठाउन सकेको छैन । भएका जनशक्तिले रातदिन नभनी काम गरेका छन । उनले भनेका छन, ‘विरामी बढीरहेका छन, भेन्टिलेटर चलाउन पूर्ण जानकार जनशक्ति छैन । वायोटेक्निसियनको काम रेडियोग्राफरले गर्नु परेको छ । समस्या कसले बुझ्ने ?’ प्राविधिक जनशक्ति नहुदा जवरजस्ती अस्पताल चलाउनु परेको उनको गुनासो छ ।
यो अस्पतालमा हरेक दिन २० भन्दा माथि गम्भिर विरामीको उपचार भईरहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या दैनिक जसो पचासको हाराहारीमा थपिदै गएको छ । परिक्षणमा आएको नतिजा हेर्दा समुदायमा संक्रमण फैलिईसकेको छ ।





















