सिन्धुली । कोभिड १९ संक्रमणका कारण संकट बढीरहेका बेलामा कालोबजारी गरेको, खानेतेल, चिनी लगाएतका खाद्य सामग्रीमा मुल्य वृद्धि गरेको र सामानको कृतिम अभाव बनाएको गुनासो आएपछि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने सहित सुरक्षा निकायका प्रमुख सहितको टोलीले बजार अनुगमन गरेको छ । शुक्रबार कमलामाई नगरपालिकाका मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा असहयोग गर्ने र कालोबजारी गर्ने एक व्यवसायीलाई अनुगमन स्थलमै कारवाहि गरिएको छ । अनुगमनको क्रममा कमला सप्लायर्स लाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने गुप्ता खाद्यान्न स्टोरबाट ४५० बोरा चामल जफत गरी फिर्ता पठाएको छ ।
कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा रहेको कमला सप्लायर्सको सञ्चालक जयकुमार दासलाई बजार अनुगमनको समयमा असहयोग गरेकोमा कारबाही गरिएको हो । उनलाई घरेलु तथा साना उद्योग कार्यालयको न्यूनतम मापदण्ड समेत पालना नगरेको भन्दै स्थलगत रूपमा बाग्मती प्रदेशको प्रादेशिक व्यापार ऐन २०७६ को दफा ६० को खण्ड द बमोजिम कसुर देखिएको भन्दै सोही ऐन दफा ६१ को उपदफा (१ ) खण्ड क, ख, ग, घ, ङ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताएका छन ।
त्यसै गरी कमलामाई नगरपालिका ६ रातामाटामा रहेको गुप्ता खाद्यान्न भण्डारबाट उत्पादन मिति ब्याज नम्बर उपभोग मिति समेत उल्लेख नगरिएको बारा कलैयामा रहेको पशुपति खाद्य उद्योगले उत्पादन गरेको सूर्य डबल ब्रान्डको ४५० बोरा चामल अन लोड गर्दै गर्दा जफत गरिएको छ । उक्त चामल जफत गरि सोहि कम्पनीमा फिर्ता पठाईएको पनि बस्नेतले जानकारी दिएका छन ।
सिन्धुली जिल्ला सहित रामेछाप, दोलखा, काभ्रे, ओखलढुङ्गा र सोलुखुम्बु लगायत जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएका सप्लायर्सहरुको अनुगमन गरिएको थियो ।
अनुगमनको समयमा अधिकृत विक्रेताहरुको मुल्यमा एकरुपता समेत पाईएको छैन । सप्लायर्स नै पिछे फरक फरक मूल्य पाइएकाले मूल्यमा एकरूपता नभएको भन्दै दिउँसो १ बजे छलफलको लागि सबैलाई जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाईएको छ ।




















