सिन्धुली । दोस्रो चरणको कोभिड–१९ संक्रमण वृद्धिसँगै शिक्षा समिति सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयको बार्षिक परीक्षाको तालिका हरेफेर गरेको छ । बुधबार बसेको संयुक्त शिक्षा समितिको बैठकले जेठ २ गतेबाट गर्ने भनेको बार्षिक परीक्षा बैशाख १९ बाट गर्ने भएको हो ।
विद्यालय स्तरमा संचालन हुने कक्षा १–७ र ९ कक्षाको परीक्षा बैशाख १९ गतेबाट संचालन हुने समितिले विज्ञप्ती जारी गरि जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख समेतको राय, सुझाव, परामर्श र समन्वयमा विद्यालय स्तरमा संचालन हुने परीक्षाको समय अगाडि सारिएको जनाईएको छ ।
यस अघि जेठ २ गते बाट वार्षिक परीक्षा संचालन गर्ने निर्णय भएकोमा कोभिड १९ को बढ्दो प्रभाव र सङ्क्रमणको जोखिमका कारण बैशाख १९ गते आइतबारबाट सुरु गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघका सह–अध्यक्ष रमेशप्रसाद देवकोटा, नेपाल शिक्षक महासङ्घका सचिव विष्णुप्रसाद फुयाँल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष पुरुषोत्तम पहाडी, नेपाल शिक्षक सङ्घका अध्यक्ष अरुण कुमार थिङ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





















