सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बाग्मति प्रदेश अध्यक्ष आनन्द पोखरेलले नेपाली राष्ट्रियता नजोगिए नेपाल नजोगिने बताए । बुधबार शहीद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवसका अवसरमा सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको नेकपा राष्ट्रियता र विकासको पक्षधर भएको बताए ।
उनले संसद विघटनका विषयलाई लिएर केहि नेतृत्वले एमसिसि पास गर्ने, अमेरिकासँग सम्झौता गर्ने, लिम्पियाधुराको नक्सा साईलेन्ट राख्ने र भूमि फिर्ताको विषय नउठाउने भए न्यायालयबाट संसद विघटनलाई सदर गराउने भन्दै प्रस्ताव बोकेर केहि कम्युनिष्ट नेताहरु आएको बताए ।
कार्यक्रममा उनले भनेका छन, ‘यो कुनै हिसावले सम्भव छैन, हामी मर्न चाहन्छौं नेपालको माटो, नेपालीको स्वाभिमान र राष्ट्रियतालाई बन्धक राख्न सक्दैनौं, भन्यौं । जसका कारण संसद पुनस्र्थापना भयो ।’
अहिलेको अस्थिरता लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा प्रकाशनका कारण आएको बताउँदै उनले भारतीय विस्तावादका पछि लाग्ने माधव नेपाल प्रचण्डका कारण ओलीलाई सरकारबाट हटाउन खोज्नुको कारण रहेको बताए । प्रधानमन्त्री ओलीले जमिन फिर्ता गराएरै छाड्ने प्रतिवद्धता जनाएर काम थालेपछि पार्टीभित्रका हरेउले खेल सुरु गरेको बताए ।
चिनसँग पारवहन सन्धि गर्नु, नाकाबन्दीको विरोध गर्नु, नेपाली नक्सा प्रकाशन गरेको कारण अहिलेको राजनीतिक अस्थिरता आएको उनको दावी रहेको छ । ‘राम्रो काम गर्ने नेपालका नेतालाई हत्या गरिदै आएको इतिहास सम्झदै उनले पृथ्वीनारायण शाह, भक्ति थापा देखि ऋषिराज देवकोटा आजाद, मदन भण्डारी लगाएतका सहिदहरुलाई सम्झेका छन ।
उनले भारतीय सामन्तवादले नेपालमा राष्ट्रवादी नेता नचाहेको बताउँदै आम नेपालीलाई नेपालको राष्ट्रवादलाई जोगाउन, अगाडि बढाउन निडरताका साथ अगाडि बढ्न आग्रह गरे ।
उनले माधव नेपाल र प्रचण्डलाई कम्युनिष्ट आन्दोलनका शत्रु र हरेउ सर्पको संज्ञा समेत दिए । ‘समयमा उनीहरुलाई बेलैमा चिन्न सक्यौं भने मात्र नेपाली कम्युनिष्ट आन्दोलन जोगिने छ’ उनले कार्यकर्तालाई भनेका छन, ‘खवरदारी गरौं ।’
उनले मदन भण्डारीको सिद्धान्तलाई आत्मसात गरेको पार्टी भएकाले संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र संसदीय परिपार्टीलाई स्वीकार गरेको बताए । उनले भने, ‘सर्वोच्चको निर्णय मान्छौं तर सम्मान गर्दैनौं ।’
उनले आजाद प्रतिको सम्मान देशको संमृद्धि नै रहेको बताए । उनले भने, ‘नेपाली जनताको चाहना स्थायीत्व हो, दरिद्रता हैन सम्पननता हो, विकास हो समृद्धि हो अविकसित र पछ्यौटेपन होइन, सामाजिक न्याय र समानता हो, असमानता हैन । जुन केपी ओली नेतृत्वको नेकपाबाट मात्र सम्भव छ ।’























