सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले युवा स्वरोजगार कार्यक्रमतर्फ ऋण लगानी गर्न सुरु गरेको छ । विहिबार नगरपालिकामा छनौट भएका ६ जना युवा व्यवसायीलाई ऋण दिई लगानी सुरु गरेको हो । नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले नगरपालिकाले छानेका ६ जना युवा व्यवसायीलाई विहिबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन ।
यसरी ऋण लिने व्यवसायीहरुमा ज्ञान कुमारी कार्की (तरकारी खेति), पार्वती रुम्बा (बंगुर पालन), मिठू वाईवा (राँगा तथा वाख्रा पालन), उजेलीमाया स्याङतान (किराना पसल), गोविन्द गौतम (आल्मुनियम फेव्रिकेशन तथा सिसा पसल) र उर्मिला बस्नेत (किराना पसल) रहेका छन । उनीहरुले १ लाख पचास हजारदेखि २ लाखसम्म ऋण लिएका छन ।
नगरपालिकाका १४ वटै वडाबाट नगरपालिकामा परेका ५ सय ३७ जना व्यवसायीको आवेदन परेकोमा ७ वटा वडाका २१ जना व्यवसायी ऋण लगानीका लागि छनौट भएका छन । ती मध्ये नगर युवा स्वरोजगार ऋण लगानी समितिले गरेको अनुगमनका आधारमा वडा नं. ७, ८ र ९ नं. वडाका ६ जनालाई विहिबार ऋण लगानी गरिएको हो ।
पैसा नभएका कारण व्यवसाय गर्न सकिन भन्नेहरुका लागि विना व्याजको ऋण लगानी गरेको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताएका छन । उनले नगरपालिकाका युवाहरुलाई रोजगारसँग जोड्ने लक्ष्यका साथ ऋण लगानी गर्न थालिएको बताएका छन ।
कमलामाई नगरपालिकाले गत वर्ष युवा स्वरोजगारका लागि १ करोड रुपैंया बजेट विनियोजन गरेको थियो । उक्त रकम बढीमा ५ लाख रुपैंया प्रतिव्यक्ति लगानी गर्ने गरि परिचालन गर्न थालेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले बताएका छन । उनका अनुसार कोभिडका कारण बजेट मार्फत आन्तरिक कोषबाट ल्याईएको युवा लक्षित कार्यक्रममा लगानी गर्न नगरपालिकाले सकेको थिएन । नगरपालिकाले उक्त रकम घुम्ति कोषका रुपमा निरन्तर लगानी गर्ने भएको पनि ढकालले बताए ।
व्यवसायीहरुलाई नगरपालिकाले पहिलो किस्ता स्वीकृत ऋणको आधा रकम उपलब्ध गराउने र दोस्रो चरणमा उनीहरुले गरेको व्यवसायको प्रगति अनुगमन गरि दोस्रो किस्ता लगानी गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उनीहरुको व्यवसाय निरन्तर अनुगमन हुने समेत उनले बताएका छन ।
विना धितो र विना व्याज व्यवसायीलाई दिन थालिएको उक्त ऋण २ वर्षमा व्यवसायीहरुले फिर्ता गर्नुपर्ने छ । पहिलो पाँच महिनासम्म उनीहरुले किस्ता फिर्ता गर्नु पर्दैन भने छैटौं महिनादेखि हरेक महिना किस्ता तिर्दै जानुपर्ने प्रावधान रहेको छ । समयमा किस्ता नबुझाउनेका लागि भने १० प्रतिशत जरिवाना लिने गरि सम्झौता गरेको युवा स्वरोजगार कार्यक्रम सञ्चालक समितिका सदस्य सचिव एवम् कमलामाई नगरपालिकाका उद्योग व्यवसाय तथा प्रवद्र्धन शाखाका प्रमुख सूलोचना लुईंटेलले बताएकी छिन । कार्यक्रमको बजेटले भ्याएसम्म व्यवसायीहरुलाई लगानी गरिने पनि उनले बताईन ।





















