सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको जनज्योति मावि फोस्रेटारमा अध्ययनरत विपन्न तथा असाहाय बालबालिकाले शुक्रबार जाडोको लागी स्वीटर पाएका छन । कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर खड्काले आफ्नै लगानीमा ५१ ज्ना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेका हुन ।

अविभावक नभएका, न्युन आय भएका र कपडा किनेर लाउन नसक्ने बालबालिकालाई न्यानो कपडाको व्यवस्था गर्न विद्यालयका प्रधानाध्यापकले अनुरोध गरेपछि वडाध्यक्षले व्यक्तिगत लगानीमा कपडा वितरण गरेका हुन ।
यसरी न्यानो कपडा पाउनेमा २७ जना विपन्न परिवारका बालबालिका, २३ जना आमा बाबु नभएका बालबालिका रहेका छन भने एक जना वेपत्ता परिवारका बालबालिका रहेको विद्यालयले जनाएको छ ।
बालकक्षा देखि कक्षा ८ सम्म पढ्ने बालबालिकालाई एक कार्यक्रमका बीच कपडा वितरण गरिएको छ । कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिमविक्रम थापाले विद्यालयमा असहाय र न्युन आर्थिक अवस्था भएका २ सय बालबालिकाले अध्ययन गर्छन । ती सबै बालबालिकालाई न्यानो कपडा उपलब्ध गराउन दाताको खोजीमा विद्यालय रहेको बताए । थापाका अनुसार कमलामाई नगरपालिकाका वडाअध्यक्ष खड्कालाई अनुरोध गरि न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष खड्काले बालबालिकाको सहयोगका लागि व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले व्यक्तिगत सहयोगमा बालबालिकालाई सहयोग गरेको समेत बताए । खड्काले न्यानो कपडा वितरणलाई अर्को वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले सञ्चारले सामाजिक र बालबालिकाका मुद्दालाई प्राथमिकताका साथ उजागर गरिरहेको बताए ।




















